×

भारतमा चुनाव हारेर नेपालकाे सांसद हुने गरी नागरिकता नबाँडाैँ : दुर्गा पौडेल

images

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

आज शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ भन्ने कुरामा दुई मत नभएको भन्दै भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्न नहुने बताउनुभयो । नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्ने उहाँकाे भनाइ छ । उहाँले विदेशी महिला नेपाली केटासँग विवाह गरेर आउनेबित्तिकै नागरिकता दिने प्रावधान हटाइ सात वर्षको प्रावधान नराखिए राष्ट्रियतामा धेरै ठूलो क्षति हुने दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘नेपालले नागरिकता प्रदान गर्ने विधि कठोर बनाउनुपर्छ फितलो होइन भनेर संविधान सभामा नै संशोधनसहित समर्थन गरेका थियौँ । खुला सीमाना भएकाे देशमा जन्मको आधारमा नागरिकता दिने हो भने हामी स्वयम् नेपाली आफैँ अल्पमतमा पर्न सक्छौँ । विशाल ठूला देशको बीचमा सानो देश नेपाल छ । यस्तो देशको भू–राजनीतिक अवस्थालाई हेर्दा नागरिकता प्रदान गर्ने याे विधि भाेलि गएर राष्ट्रघाती र आत्माघाती नै हुन्छ । यो विषयमा सरकारले ध्यान पुर्‍याउन जरुरी छ । वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ तर भारतमा चुनाव हारेर नेपालको संसद् हुने गरी नागरिकता वितरण गर्नु भएन । यो राष्ट्रियतासँग जोडिएको कुरा छ । वंशजको नागरिकता पाउनका लागि बुबा र आमा वंशजको चाहिन्छ । अङ्गीकृत नागरिकता विवाहित महिलाको हकमा सात वर्षको प्रावधानलाई कायम राखेरै जानुपर्छ । अन्यथा हामीले यो नागरिकता दिँदै गर्दा देशको राष्ट्रियतासँग जोडिएको कुराप्रति गम्भिर हुन सकेनौँ भने धेरै ठूलो क्षति भोग्नुपर्छ ।’

सांसद पौडेलले अङ्गीकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्र र कुनै सिद्धान्तले नदिने बताउनुभयो । उहाँले कुनै पनि देशले आफ्नो भौगोलिक अवस्था, सीमानाको अवस्था आदिको सर्वपक्ष मूल्याङ्कन गरेर देशको हितमा हुने गरी नागरिकता वितरण गर्ने हरेक देशको आ–आफ्नो प्रचलन रहेको बताउनुभयो । वंशजको नागरिकता जन्मको आधारमा दिने कुरा गलत हुने उहाँकाे भनाइ छ । 

शुक्रबार​ ६ साउन २०७९ ०३:२७ PM मा प्रकाशित

प्रतिक्रिया