×

‘कम्फर्टेबल’ राष्ट्रपतिको खोजी

images

काठमाडौं ८। प्रतिनिधिसभाले सभामुख र उपसभामुख चुनेसँगै चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति खोजी थालेको छ । यसअनुसार फागुनभित्रै देशले नयाँ राष्ट्रपति पाउनेछ ।

नयाँ राष्ट्रपतिका लागि सत्ता गठबन्धन र बाहिर रहेका दलहरूले अंकगणितको जोड घटाउसमेत सुरु गर्न थालिसकेका छन् ।

सत्तारूढ दलमध्येको प्रमुख घटक नेकपा एमालेले पूर्वसहमतिनुसार राष्ट्रपति आफ्नै दलले पाउने अपेक्षा राख्दै आएको छ भने सत्ताबाहिर रहेको दल नेपाली कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनजस्तै हिसाबकिताब ‘राष्ट्रपति निर्वाचन’मा नहुने अड्कल गर्दै आइरहेको छ ।

गत १० पुसमा प्रधानमन्त्री नियुक्त पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत दिएकाले कांग्रेसले ‘राष्ट्रपतिमा आफ्नो दावी स्वभाविक रहेको’ बताउँदै आएको छ । एमालेले भने सरकार गठनअघि नै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री र एमालेले राष्ट्रपति लिने सहमति भएको दावी गरिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजी गर्ने बताउँदै आएका छन् । प्रचण्डको सो आशयप्रति एमाले फेरि सशंकित बनेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारमै राष्ट्रिय सहमति खोजी हुने बताइसकेका छन् ।

एमालेले राष्ट्रपतिमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य र डोरमणी पौडेलमध्ये एक जनालाई अघि सार्ने रणनीति बनाएको बताइन्छ ।

तर, सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रभित्र भने कांग्रेस र एमालेभन्दा बाहिरबाटै राष्ट्रपति चयन गर्दा शक्ति सन्तुलका हिसाबले पछिको अवस्थाका लागि सहज हुने विश्लेषण हुन थालेको छ ।

कांग्रेससमेत ‘गैरकम्युनिस्ट’लाई राष्ट्रपति मान्न तयार हुने अनुमानसहित प्रधानमन्त्री प्रचण्डलाई आफ्नै दलभित्रबाट दबाब बढ्न थालेको छ भने संसद्मा सहभागी दलका नेताले समेत ‘कम्फर्टेबल’ राष्ट्रपति खोजी हुनुपर्ने बताउन थालेका छन् ।

प्रतिनिधिसभामा शनिबार बोल्दै राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले ‘दलहरूको अबको लडाईं राष्ट्रपतिका लागि भएको र कम्फर्टेबल राष्ट्रपतिको खोजी हुनुपर्नेमा जोड दिए । ‘अबको लडाईं भनेको राष्ट्रपतिमा हो, सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ,’ उनले भने ।

उच्चस्रोतका अनुसार नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा र जनार्दन शर्मासहितका केही नेता ‘कम्फर्टेबल’ राष्ट्रपति खोजीका लागि कांग्रेससँग संवादमा छन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता पौडेल र सिटौला पनि अन्य दलसँग निरन्तर संवादमा छन् ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्रीको परीक्षा हुने बताउँछन् । राजधानी दैनिकबाट

आइतबार​ ८ माघ २०७९ ०८:११ AM मा प्रकाशित

प्रतिक्रिया