×

एमाले सांसद कोइरी भारत भागेको आशंका, पक्राउ गर्न ७७ जिल्लामा सर्कुलर

images

काठमाडौं । गृह मन्त्रालयले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा सर्कुलर गरेको छ । गृह मन्त्रालयले सांसद महतोलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रुपमै पत्राचार गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रबि लामिछाने गृहमन्त्री बनेसँगै उनलाई पक्राउ पर्न दवाब बढेको छ । प्रतिनिधि सभाका प्रायः जसो बैठकमा सहभागी हुने गरेका कोइरी प्रहरीको फरार सूचीमा छन् ।

उनी एमालेका शीर्ष नेताहरुको संरक्षणमा रहेको आंकलन गरिएको छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शनीबारको सांसद बैठकमा प्रहरीले हत्याका आरोपित नपक्रेको भन्दै गृहमन्त्रीको आलोचना गरेका थिए । 

सांसद कोइरी महोत्तरीको गौशाला नगरपालिका–२ का स्थानीय हुन् । कोइरीलाई पक्राउ गर्नेबारे गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर भनेको थियो–‘उपप्रधानमन्त्रीज्यूबाट पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
 
राष्ट्रसेवक कर्मचारी हत्या अभियोगमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । २०७७ मंसिर १९ मा जनकपुर उच्च अदालतले जारी गरेको ‘वारेन्ट’का कारण उनी प्रहरीको ‘खोजी सूची’मा छन् ।

अदालतबाट जारी पक्राउ पुर्जी प्रहरीसँग छ । प्रधान कार्यालयले सो पुर्जी अहिले देशभरका प्रहरी युनिटहरूमा पठाएको छ । सांसद कोइरीमाथि २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन विकलाई लखेटेर हत्या गरेको आरोप छ ।

चुनावअघि जसपा छाडेर एमाले प्रवेश गरेका  कोइरी, महोत्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका हुन् । लक्ष्मी महतोको अस्थायी बसोबास भक्तपुरको दुवाकोटमा छ । उपत्यका प्रहरी कार्यालयले उनी बस्ने घरमा निगरानी बढाउन प्रहरी परिचालन गरेको छ । घरमा निगरानी बढाएपछि सांसद कोइरी भातरतिर लागेको आशंका गरिएको छ ।

आइतबार​ ८ माघ २०७९ ०८:५१ PM मा प्रकाशित

प्रतिक्रिया