×

अस्पतालको उपकरणको मर्मतसम्भार आविष्कार केन्द्रले गर्ने सम्झौता

images

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सङ्घीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र आविष्कार केन्द्रकातर्फबाट अध्यक्ष डा. महावीर पुनबीच त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा स्वास्थ्यमन्त्री पौडेलले राज्यमा उपलब्ध सीमित स्रोतसाधनकाबीच स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई चुस्त र व्यवस्थित तुल्याउनुपर्ने भएकाले केन्द्रसँग सहकार्य गर्न लागिएको बताए ।

ती अस्पतालमा रहेका उपकरण के–कति प्रयोगमा आउन सक्ने र कुन अवस्थामा छन् भनी एकिन गर्ने तथा बनाउन सकिने र नसकिने पहिचान गर्ने कार्य केन्द्रले गर्नेछ । मर्मत गर्नं सकिने भए बनाउने र नसकिने भए सोही अनुसारको रायसुझाव आविष्कार केन्द्रले मन्त्रालयलाई दिनेछ ।

 केन्द्रले क्षमताले भ्याएसम्म इमान्दारिपूर्वक कुनै छलछाम नगरीकन राष्ट्र र जनताको सेवा गर्ने प्रतिवद्धता जनाउदै अध्यक्ष पुनले नौलो र बृहत् क्षेत्र भएपनि विगतका अनुभवले काम पुरा गर्ने विश्वास व्यक्त गरे ।

सम्झौताअनुसार आविष्कार केन्द्रका प्रतिनिधि सबै अस्पतालमा गएर त्यहाँ प्रयोग नभएका र सूचीकृत भएका सामानको पहिचान गरी सोही अनुरुपको प्रतिवेदन दिनेछन् । आफै बनाउन के कति मूल्य र पार्टपूर्जा चाहिन्छ त्यसको अभिलेख तयार गरिने छ ।

यस्ता काम आगामी दिनमा केन्द्रमार्फत नै अगाडि बढ्ने भएकाले उपकरण व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । सरकारको एउटा मन्त्रालयले प्राविधिक रुपमा काम गराउन आविष्कार केन्द्रलाई विश्वास गर्न सुरु गरेको छ । केन्द्रलाई राज्यले विश्वास गरेको, उपकरण प्रयोगमा आउनसक्ने सम्भावना बढेको हुँदा स्वास्थ्य क्षेत्रको खर्चको लागत घटाउन र प्राविधिक जनशक्तिको उपयोग हुनेछ ।

बुधबार ५ भदौ २०८१ ०७:१३ PM मा प्रकाशित

प्रतिक्रिया