×

सरकारले भित्रभित्रै एसपीपी पास गर्ने तयारी गरिरहेकाे देव गुरुङकाे आशङ्का

images

 नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकारले भित्रभित्रै अमेरिकी स्टेट प्राेग्राम पार्टनरशिप (एसपीपी) सम्झौता गर्ने तयारी गरिरहेको आशङ्का गर्नुभएको छ । आज बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

सांसद गुरुङले भर्खरै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौता गर्न लागिएको आशङ्का व्यक्त गर्नुभयो । सांसद गुरुङले परराष्ट्र मन्त्रालयले पछिल्लो समयमा तत्कालै पत्राचार गर्न नसकिने र विभिन्न पक्षसँग संवाद, सल्लाह, परामर्श गरेर मात्रै गर्ने अभिव्यक्ति दुःखद रहेको बताउनुभयो । 

उहाँले परराष्ट्र मन्त्रालयको अभिव्यक्ति मन्त्रिपरिषद्को निर्णय विपरीत भएको बताउनुभयो । उहाँले अविलम्ब एसपीपी सम्बन्धी पत्र पत्राचार गर्न रुलिङको माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘परराष्ट्र मन्त्रालयकी प्रवक्ताले एसपीपी सम्झौता नगर्ने भनेर पत्राचार गर्न नसकिने अभिव्यक्ति दिनुभएको छ, यो मन्त्रिपरिषद्को निर्णयभन्दा विपरीत भयो भन्ने लाग्छ । किनभने मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गर्ने दायित्व सम्बन्धित मन्त्रालयहरूको हो । तर परराष्ट्रले यो निर्णय कार्यान्वयन गरिरहेको छैन । त्यसैले अविलम्ब एसपीपी सम्बन्धी पत्र पत्राचार गर्न रुलिङको माग गर्न चाहन्छु ।’

सांसद गुरुङले 'पिस को–अप्रेशन एग्रिमेन्ट' भनेर शीर्षक राखेर एसपीपी सम्झौता गर्ने प्रयास भइरहेको दाबी गर्नुभयाे । 

बिहीबार ५ साउन २०७९ ०५:०४ PM मा प्रकाशित

प्रतिक्रिया