×

देशको राष्ट्रियतामाथि गम्भीर खतरा छ : झलनाथ खनाल

images

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको राष्ट्रियतामाथि विभिन्न खतरा मडारिरहेको दाबी गर्नुभएको छ । आज बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

सांसद खनालले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) लिन्न भनेर मन्त्रिपरिषद्ले निर्णय गरिसकेपछि के कारणले पत्राचार गर्न रोकियो भन्दै प्रश्न गर्नुभयो । उहाँले देशको क्याबिनेट भन्दा बाहिरतिर कतातिर कार्यकारी अधिकार छ ? भन्दै प्रश्नसमेत गर्नुभयो । सांसद खनालले एसपीपीको बारेमा अमेरिकालाई पत्र तत्काल लेखेर नागरिकको भावनाको कदर गर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘ देशको राष्ट्रियताका सामु अनेक प्रकारका खतरा मडारिरहेका छन् । हामीले एसपीपी लिन्नौँ भनेर भनिसकेका छौँ । सदनबाट नै भनेको छ । मन्त्रिपरिषद्ले पनि निर्णय गरेको छ । चाँडो भन्दा चाँडो पत्र लैख्छौँ र रोक्छौँ भनेर सरकारले भनेको हो । तर अहिलेसम्म पनि त्यो पत्र के कारणले लेख्न सकिएको छैन ? हाम्रो देशको क्याबिनेट भन्दा बाहिरतिर कतातिर कार्यकारी अधिकार छ ? के कारणले रोकिँदै छ ? यसलाई गम्भीरतापूर्वक लिएर चाँडो भन्दा चाँडो समाधान गरियोस् ।’

सांसद खनालले नेपालमा अहिले धेरै समस्याहरू गम्भीर बन्दै गएकोले तत्काल समाधान गर्ने बाटोमा सरकार जानुपर्ने बताउनुभयो । 

बिहीबार ५ साउन २०७९ ०५:२२ PM मा प्रकाशित

प्रतिक्रिया