×

मोदीसँग विदेशमन्त्री वाङको भेटवार्ता, चीन भ्रमणको दिए निमन्त्रणा

images

काठमाडौँ ।  चिनियाँ विदेशमन्त्री वाङ यीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर चीन भ्रमणको निमन्त्रणा दिएका छन् । यीले मोदीलाई भेटेर सांघाई सहयोग संगठन (एससीओ) को बैठकमा भाग लिन चीन जाने औपचारिक निमन्त्रणा दिएका हुन् ।

भारत भ्रमणमा रहेका विदेशमन्त्री यीले प्रधानमन्त्री मोदीलाई भेट्नु अघि मंगलबार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरेका थिए ।

यो पछिल्लो सात वर्षमा मोदीको पहिलो चीन भ्रमण हुने भएको छ । यस क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पनि भेट्ने कार्यक्रम छ । मोदी र सी जिनपिङको अन्तिम भेट अक्टोबर २०२४ मा कजानमा भएको ब्रिक्स सम्मेलनको क्रममा भएको थियो । 

साङ्घाई सहयोग संगठनको बैठक ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म हुने भएको छ। यसमा कम्तिमा २० देशका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

वाङ यीलाई भेटेपछि प्रधानमन्त्री मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा लेखेका छन्- 'चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न पाउँदा खुसी लाग्यो । गत वर्ष कजानमा राष्ट्रपति सी जिनपिङसँगको मेरो भेटपछि, भारत-चीन सम्बन्धले एकअर्काको हित र संवेदनशीलताको सम्मान गर्दै स्थिर प्रगति गरेको छ । म तियानजिनमा हुने एससीओ शिखर सम्मेलनमा हाम्रो अर्को भेटको लागि तत्पर छु । भारत र चीनबीचको स्थिर, विश्वासिलो र रचनात्मक सम्बन्धले क्षेत्रीय मात्र नभई विश्वव्यापी शान्ति र समृद्धिमा पनि ठूलो योगदान पुर्‍याउनेछ ।'

मोदीको चीन भ्रमण यस्तो समयमा भइरहेको छ जब एकातिर गलवानको घटनापछि सीमा विवाद पूर्ण रूपमा समाधान भएको छैन भने अर्कोतर्फ भारत र पाकिस्तानबीचको हालैको द्वन्द्वमा चीनलाई पाकिस्तानलाई सहयोग गरेको आरोप लगाइएको छ । उही समयमा, अमेरिकाले भारतमा ५० प्रतिशतको भन्सार कर लगाएको छ तर यस विषयमा चीनलाई छुट दिएको छ ।

२०२० मा, पूर्वी लद्दाखको गलवानमा दुई देशका सैनिकहरू बीच भएको हिंसात्मक झडपमा २० भारतीय सैनिक र धेरै चिनियाँ सैनिकहरू मारिएका थिए ।

 

बुधबार ४ भदौ २०८२ १२:०९ PM मा प्रकाशित

प्रतिक्रिया