काठमाडौं । सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा आज धेरै राज्यहरूमा प्रहरीले उच्च सर्तकता अपनाएको छ ।
अग्निपथ योजनाको विरोधमा विशेषतः युवाहरू क्रुद्ध बनेका छन् । सरकारले अन्याय र अव्यवहारिक योजना ल्याएकाले त्यो फिर्ता हुनुपर्ने उनीहरूले माग गर्दै आएका छन् ।
हालै सरकारले ल्याएको उक्त योजनामा भारतका १७ देखि साढे २१ वर्ष उमेर समूहका युवा–युवतीहरूलाई जल, स्थल र वायु गरी तीन ओटै सैन्य सेवामा जवान पदमा चार वर्षको अल्पकालीन करारमा भर्ना गरिने उल्लेख छ ।
योजनाअनुसार सैनिक सेवामा प्रवेश गरेका ७५ प्रतिशत युवाले चार वर्षमै अवकास पाउने छन् । योजनालाई लिएर केही दिनदेखि भारतमा हिंसात्मक प्रदर्शन भइरहेका छन् ।
युवाहरूको विरोधबीच सरकारले योजना फिर्ता नगर्ने बताउँदै आएको छ । प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार झारखण्डमा आज स्कूलहरू बन्द गरिएका छन् ।
त्यहाँ कक्षा ९ र ११ को चलिरहेको परीक्षा पनि स्थगित गरिएका छन् । दिल्ली नजिकैको गौतम बुद्ध नगरमा ठूला जमघटहरूमा प्रतिबन्ध लगाउने निषेध आदेश लगाइएको छ ।
विभिन्न राज्यबाट दर्जनौँ आन्दोलनकारी पक्राउ परेका छन्
प्रतिक्रिया