×

वामदेवले किन रोजे एमाले

images

काठमाडौं। राष्ट्रिय सभा सदस्य एवं नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गर्ने भएका छन्। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गौतमका बीचमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपश्चात गौतमले एमालेमा प्रवेश गर्ने जनाएका हुन्।

गौतम एमाले प्रवेश गरे पनि अभियानमा आबद्ध केही नेता नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गर्ने भएका छन्। ती नेताले एमालेमा प्रवेश नगरी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) वा माओवादीमा प्रवेश गर्नुपर्ने अडान लिएको स्वयं गौतमले जनाएका छन्।

प्रधानमन्त्री ओलीसँग छलफल भएपछि अब छिट्टै नै पार्टी प्रवेशको मिति, स्थान र समय तोकिने गौतमले जनाएका छन्। ‘२ वर्ष भयो मैले प्रयत्न गरेको, तपाईंले वास्तै गर्नुभएन, तर यसपालि बोलाउनुभयो ठीकै छ,’ प्रधानमन्त्रीसँग भएको छलफलमा गौतमले भने। गौतमजस्तो पुरानो र इतिहास बोकेको नेता एमालेमा सक्रिय भएर लाग्नुपर्ने प्रधानमन्त्रीले गौतमसक्ष राखेका थिए।

यसअघि गौतमले एमाले प्रवेश गर्न खोजेका थिए। तर, ओलीले उनलाई एमाले भित्र्याउन चासो दिएका थिएनन्। जब गौतमले एकीकृत समाजवादी प्रवेशका लागि माधवकुमार नेपालसँग छलफल थाले, त्यसपछि ओलीले पुनः गौतमलाई एमालेमै भित्र्याउने चाहना व्यक्त गरे। सोहीअनुसार एमालेका नेताहरूले गौतमसँग अनौपचारिक छलफल गर्दै ओलीसँगै भेट्टाउने र एमाले भित्र्याउनेगरी छलफल चलाए।

‘यसबीचमा मैले छलफल गरें, एकीकृत समाजवादीमा प्रवेश गर्ने औचित्य सकिएको छ, माधवजीसँग कुराकानी भयो तर कतिपय आशंकाजस्तो व्यक्त गर्ने काम भयो,’ गौतमले भने, ‘अब यी कुरा छाडिदिऊँ, ओलीजीले छिट्टै खबर आउँछ भन्नुभएको छ।’

यसअघि एकीकृत समाजवादीमा प्रवेश गर्ने अन्तिम चरणको छलफल भइसकेको थियो। कहिले एकीकृत समाजवादी त कहिले एमालेसँग छलफल गर्दै गौतम कुन पार्टीमा प्रवेश गर्ने भन्नेमा अन्योलमा थिए।

१७ पुसमा गौतमले एकीकृत समाजवादीसँग एकताको अन्तिम गृहकार्यमा रहेको बताएका थिए। एकीकृत समाजवादी अध्यक्ष नेपालसँगको संवादपछि गौतमले पार्टी एकता छिट्टै हुने बताएका थिए। ‘समझदारी विकास गरिने भएको छ, यो त एउटा सानो पक्ष हो, यसैलाई खोल्नेबित्तिकै कति धेरै आउँछ, अबचाहिँ यस्तो भयो भनेर जुन दिन घोषणा गर्छौं, त्यही दिन बताउँछौं, यसरी पार्टी एकता गर्छौं,’ केही समयअघि गौतमले भनेका थिए।

त्यसपछि २७ पुसमा अभियानको केन्द्रीय कमिटी बैठक बस्ने र निर्णय गर्ने भनिएको थियो तर अभियानको बैठकले एकीकृत समाजवादीसँग तत्काल पार्टी एकता गर्ने कि नगर्ने कुनै निर्णय नै गर्न सकेन।

एकता अभियानका महासचिव डीबी कार्कीले तत्काल एससँग एकता गर्ने विषयमा कुनै निर्णय नभएको बताएका थिए। ‘एकीकृत समाजवादीसँगको एकता प्रक्रियामा गम्भीर छलफल भयो, हामी वाम एकताको पक्षमा छौं,’ कार्कीले भनेका थिए, ‘त्यसैले नयाँ शिराबाट वामपन्थी एकताको बहस अघि बढाउन कमरेड वामदेव गौतमको नेतृत्वमा ५ सदस्यीय वार्ता समिति बनाएर बैठक सकियो।’

एकीकृत समाजवादीसँग पार्टी एकता गर्न अन्तिम चरणमा पुगेर गौतम पुनः एमालेमै फर्किने रणनीतिका साथ अगाडि बढे। एमाले, एकीकृत समाजवादी, माओवादी केन्द्रसहितका वामपन्थी दलहरूसँग पार्टी एकताका लागि छलफल गर्ने निर्णय अभियानले गरेपछि गौतम एमालेसँग छलफलमा जुटेका थिए।

एकीकृत समाजवादी गौतमलाई तेस्रो वरीयताको वरिष्ठ नेता बनाउन तयार थियो। तर, गौतम भने संगठन विभाग नपाएको र जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शनमा समाजवादी कार्यदिशा बनाउनुपर्ने आफ्नो माग नसुनिएको भन्दै तत्काल एकता नगर्ने निष्कर्षमा पुगेका हुन्।

‘उहाँ (गौतम)लाई तेस्रो वरीयताको वरिष्ठ नेता दिने र अरू नेताहरूको पनि व्यवस्थापनको विषयमा लगभग टुंगो भइसकेको थियो, त्यहीबीचमा गौतमले संगठन विभाग प्रमुख पनि खोज्नुभयो, यहाँ मिलाउनलाई त महासचिवलाई नदिई अरूलाई नै संगठन विभाग दिनुपरेको छ,’ एकीकृत समाजवादीका एक पदाधिकारीले भने।

एमालेको २१ देखि २३ पुसमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी विभाजनलगायत कारणले पार्टीबाहिर रहेका नेता कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेपछि त्यसैको निहुँ बनाएर गौतम तत्काल एकीकृत समाजवादीमा प्रवेश नगर्ने निष्कर्षमा पुगेका थिए।

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको तत्कालीन नेकपा विभाजन भएपछि गौतम कुनै दलमा नलागी स्वतन्त्र बसेका थिए। पछि उनले अभियान गठन गरी पुनः नेकपा ब्युँताउन खोजेका थिए । तर, त्यो प्रयास असफल भएपछि उनले कहिले एमाले त कहिले एकीकृत समाजवादी प्रवेश गर्ने चाहना व्यक्त गर्दै आएका थिए।

राजधानी दैनिकबाट

सोमबार ७ माघ २०८१ ०८:५६ AM मा प्रकाशित

प्रतिक्रिया