×

मन्त्रीहरू लुकीछिपी निर्णय गर्छन्, जनतालाई थाहा दिँदैनन्, एसपीपीमा पनि त्यही गरे : देवकाेटा

images

 राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले सरकारले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) लुकीछिपी अघि बढाएको आरोप लगाउनुभएको छ । 

आज आइतवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै देवकाटाले संसदबाट पारित गरिएको एमसीसी सम्झौता पनि सरकारले त्यसैगरी अघि बढाएको उल्लेख गर्नुभयो । उहाँले सरकार र अदालतले भने पारदर्शिता अपनाउन नपर्ने हो र ? भनी प्रश्नसमेत गर्नुभयो । 

सांसद देवकोटाले भन्नुभयो, ‘सरकारका मन्त्रीहरूको नै कुरा गर्ने हो भने निर्णयहरू लुकीछिपी गर्छन् । सार्वजनिक गर्दैनन् । जनतालाई थाहा दिँदैनन् । सुरुवाती अवस्थामा एमसीसीमा लुकीछिपी निर्णय गरे । अहिले बहुचर्चित एसपीपीमा पनि त्यहीँ गरेका छन् । अरू गम्भीर विषयलाई एकछिन थाती राखौँ । प्रतिनिधि सभाबाट पारित भएर आएको मन्त्रालयहरूको वार्षिक विकास कार्यक्रम एकाधबाहेक अहिलेसम्म कुनै पनि मन्त्रालयले वेबपेजमा राखेका छैनन् ।’

सरकारका हरेक निकायलाई पेपरलेस सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै सांसद देवकोटाले त्यहीअनुसारको कामको व्यवस्था गर्न सरकारसँग मागसमेत गर्नुभयो । उहाँले काठमाण्डाै महानगरपालिका र धरान नगरपालिकाले आफ्नो बैठकसमेत लाइभ गराएर पारदर्शिताको उत्कृष्ट नमुना प्रदर्शन गरेको भन्दै त्यहीअनुसारको काम सरकारले पनि गर्नुपर्ने बताउनुभयो । सांसद देवकाटाले सरकारले आफ्ना सबै निर्णय वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसद देवकोटाले पारदर्शिता नभएकै कारण सरकारका हरेक गतिविधिमा भ्रष्टाचार हुने गरेको दाबीसमेत गर्नुभयो । 

आइतबार​ ५ असार २०७९ ०४:३४ PM मा प्रकाशित

प्रतिक्रिया