गोरखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा माओवादीका कृष्ण राना मगर र उपमेयरमा कांग्रेसकी मसली माया थोकर विजयी हुनुभएको छ ।
रानाले आठ हजार नाै सय ६४ प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी कांग्रेसका राजनराज पन्तले सात हजार एक सय आठ मत प्राप्त गर्नुभयो । २०७४ सालको पालिका चुनावमा मेयरमा पदमा पन्त निर्वाचित हुँदा राना एक हजार पाँच सय ३४ मतले पराजित हुनुभएको थियो । पाँच वर्षपछि उनै रानाले पन्तलाई एक हजार आठ सय ५६ मत अन्तरले हराउनुभएकाे हाे ।
यस्तै उपमेयरमा विजयी कांग्रेसकी थोकरले सात हजार चार सय ५३ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का नारायण खत्रीले ६ हजार सात सय १८ मत प्राप्त गर्नुभयाे ।
पालिकाकाे मेयर र उपमेयर पदमा माओवादी केन्द्र र जसपाले तालमेल गरेका थिए । १४ वडा रहेको गोरखा नगरपालिकामा कांग्रेसले १, २, ९, १०, १२ र १३ नम्बर वडाको अध्यक्ष जितेको छ ।
माओवादी केन्द्रले ४, ७, ८, ११ र १४ नम्बर वडाकाे अध्यक्ष जित्दा एमालेले ३ र ५ नम्वर वडाको अध्यक्ष जितेको छ । वडा नम्बर ६ को अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
प्रतिक्रिया