×

संसारभरी छरिएर रहेका हिन्दु धर्मालम्बीहरूको वडादशैंको साइत कहिले र कुन समयमा उत्तम ? 

images

काठमाडौं । हिन्दुहरूको महानपर्व विजया दशमी (वडादशैं) संसारभरी छरिएर रहेका नेपालीहरूले मनाउँदै आएका छन् । परापूर्वकालदेखि मनाउँदै आएका उनीहरूले यो पर्व हर्ष उल्लासका साथ विशेष तरिकाले मनाउने गर्दछन् । 

विजया दशमीको दिन मान्यजनको हातबाट टीका–आशीर्वाद थाप्ने गरिन्छ । यो पर्व मनाउन विविध कारणवस् देशबाहिर गएकाहरू स्वदेश फर्किन्छन् भने घरदेखि टाढा रहेकाहरू घर फर्किन्छन् । 

वर्षको एकपटक आउने यो पर्व हिन्दुहरूले विशेष महत्वका साथ मनाउँदै आएका छन् । निधारमा टीका–जमरा सजाएर मीठा–मीठा परिकार खाने गरिन्छ भने देशका विभिन्न मन्दिर, देवस्थल लगायतका क्षेत्रमा मेला पनि लाग्ने गर्छ । 

यसरी नै संसारभरी छरिएर रहेका नेपालीहरूले पनि यो पर्व हर्षोल्लासका साथ मनाउने गर्छन् । उनीहरू जुन देशमा बसोबास गर्छन् । त्यहीँ देशमा आफ्नो सस्कृति परम्पराअनुसार नै वडादशैं मनाउँछन् । त्यहाँ पनि नेपालीहरूले टीका–जमरा निधारभरी सजाएर नयाँ–नयाँ पहिरणमा सजिएर धुनधानका साथ रमाइलो गर्दै मनाउँछन् । 

सन् २०१५ देखि परिवारसहित अमेरिका रहँदै आएका सुर्खेतमा प्रशुराम ऐरी उतैको नागरिक बनेको चार वर्ष भयो । तर, उनी त्यहाँको नागरिक भए पनि आफूले सानैदेखि मनाउँदै आएको पर्व वडादशैं त्यहीँ बसेर मनाउँदै आएका छन् । 

‘हामी जहाँ भए पनि हाम्रो मूल नेपाल नै हो, हामी नेपाली नै हौँ । हाम्रो धर्म, संस्कार, संस्कृति भन्नू प्राण हो । दशैं–तिहार हाम्रा लागि महानपर्व नै हो । हामी बाँचुञ्जेल मनाइँनै रहन्छौँ,’ ऐरी भन्छन्, ‘आफू जहाँ रहेपनि नेपालीपन र मन फेरिँदो रहेन्छ । त्यसैले होला, दशैं–तिहार जस्ता पर्वलाई नमनाए खल्लो र न्यास्रो लाग्छ ।’

त्यस्तै अर्का दङ्गाली कृष्ण भण्डारी क्यानडीयन नागरिक बनेको तीन वर्ष भयो । उनी त्यहाँ गएको झन्डै २० वर्ष भयो । २२ वर्षको उमेरमा क्यानडा पुगेका उनी उतैको नागरिक बनिसके । 

उनलाई पनि दशैं–तिहार भन्ने बित्तिकै बालापन र नेपालको खुब याद आउँछ । बच्पनमा छँदा गाउँघरमा घरपरिवार र मान्यजनसँग यी पर्व मनाएको स्मरण गर्छन्, –भण्डारी । 

उनी भन्छन्– ‘चाडवाड आउँदा आफू कार्यरत कार्यालयमा बिदा मिलाउँछु । आफ्नो हातको कार्य छुटेको छ भने बिदा सक्काएर मरिमेटी गर्छु । वडादशैंको अवधिभर परिवार सबै मिलेर मनाउँछौँ ।’

मेरी श्रीमती यतै (क्यानडा)को मूलबासी वा नागरिक भएर होला, त्यति धेरै यसबारे जानकारी छैन । तर, वडादशैंबारे मैले इतिबृति सुनाए, बुझाएको छु । उनी पहिले क्रिश्चियन भए पनि आजभोलि हिन्दु धर्म–संस्कारलाई मन पराउँछिन्,’ भण्डारी भन्छन्, ‘हामी दुई वर्ष पहिले दाङमै पुगेर दशैं–तिहार मनाएका थियौँ । उनले (भण्डारीकी श्रीमती) पनि खुशीयालीका साथ मनाईन् । यो नै हाम्रो लागि खुशीको कुरा हो, हामी क्यानडामा प्रत्येक वर्ष यसरी नै दशैं मनाउँछौँ ।’ 

यी त भए केही नेपाली मूलका पर्व मनाउने प्रतिनिधिपात्र । तथापि संसारभरी छरिएर रहेका नेपालीहरूले वडादशैं–तिहार जस्ता पर्व जहाँ भए पनि मनाउने गर्छन् ।

वडादशैं आइतबारदेखि शुरू भएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन घरघरमा जौ, मकै, गहँु आदिको जमरा राखि घटस्थापना गरेसँगै यसपालिको दशैं शुरू भएको हो ।

घटस्थापनाका लागि बिहान वा साँझ राख्ने गरे पनि साइत जुराउनेहरूका लागि भने नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान ११ बजेर २९ मिनेटको शुभसाइत तोकेको थियो । 

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो पर्व असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ । घटस्थापनाको दिन पूजाकोठा, दशैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । 

कतैकतै भने ब्रम्हाको पनि स्थापना गरिन्छ । घटस्थापनाका दिन पूजाकोठामा घंैटो अथवा घडामा जलभरि माथिपटि आँप, चाँप, वरपिपलको पात राख्ने परम्परा छ । 

यो घडावरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ । कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ । 

बिहानै उठेर नुहाइधुवाइ गरी चोखो भएर पूजाकोठामा बालुवा अथवा चोखो माटो राखि जौ र मकैको बीउ उमार्ने गरिन्छ । त्यहीनजिकै थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म मनाउने गरिन्छ ।

यसका साथै वडादशैं मनाउन वा उत्तम साइत जुराएर टीका थाप्नेहरूका लागि अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको बैठकले नै निर्णय गरेको छ । जसका लागि उक्त समितिको बैठक असोज २१ मा बसेको थियो । 

बैठकले देश तथा विदेशमा रहेका नेपालीहरूका लागि टीकाको उत्तम साइतबारे निर्णय गरेको छ । जसअनुसार नेपालमा आगामी कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेट जाँदा टीकाको उत्तम साइत जुरेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिले जनाएको छ । 

उक्त समितिका सभापति प्राडा माधव भट्टराईले दिएको जानकारी अनुसार २४ देहाती भारतमा अक्टोबर १०ः५५ बजे, लिस्बन, पोर्चुगल २४ अक्टोबर ११ः२३ बजे, लण्डन, बेलायत २४ अक्टोबर ११ः३१ बजे न्यूयोर्क, अमेरिका २३ अक्टोबर १०ः४७ बजे टीकाको उत्तम साइत जुरेको छ । 

पेरिस, फ्रान्स २४ अक्टोबर ११ः२५ बजे, केन्टुकी, अमेरिका २३ अक्टोबर ११ः३१ बजे, ओस्लो, नर्वे २४ अक्टोबर ११ः३५ बजे, टेक्सास, अमेरिका २३ अक्टोबर ११ः०३ बजे मान्यजनबाट टीका थाप्दा हुने समितिका उप–सभापति देवमणि भट्टराईले बताए । 

क्वालालम्पुर, मलेसिया २४ अक्टोबर ११ः१५ बजे वासिङ्गटन डिसी क्यालिफोर्निया, अमेरिका २३ अक्टोबर १०ः३१ बजे, टोरन्टो, क्यानडा २३ अक्टोबर ११ः१७ बजे, भ्यानकुभर, क्यानाडा २३ अक्टोबर ११ः३५ टोकियो, जापान २४ अक्टोबर १०ः४५ बजे टीकाको उत्तम साइत परेको छ । 

सिड्नी, अस्ट्रेलिया २४ अक्टोबर ११ः१५ मेलबर्न, अस्ट्रेलिया २४ अक्टोबर ११ः३५ ब्रिसवेन, अस्ट्रेलिया २४ अक्टोबर १०ः२५ क्यानवेरा, अस्ट्रेलिया २४ अक्टोबर ११ः२१ वेलिङ्गटन, न्यूजिल्याण्ड २४ अक्टोबर ११ः२१ बजे टीका थाप्दा उत्तम हुने बताईएको छ । 

हेर्नुहोस् विज्ञप्ति :


 

मङ्गलबार ३० असोज २०८० ०४:१८ PM मा प्रकाशित

प्रतिक्रिया