×

अध्यक्ष प्रचण्डले पार्टी सभापति देउवालाई फोन गर्नु र जनार्दन शर्माले भेट्नु संयोगमात्रै

images

काठमाडौं । काङ्ग्रेसले सत्तारूढ गठबन्धन फेरबदल नहुने प्रस्ट पारेको छ । संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले पनि प्रतिपक्षी दलसँगको संवाद सामान्य रहेको भन्दै सरकार परिवर्तन गर्ने नभएर कार्यशैली परिवर्तनका पक्षमा काङ्ग्रेस रहेको ब्रिफिङ गरेका छन् ।

‘सरकार परिवर्तनको कुनै कुरा छैन । प्रतिपक्षी दलका नेतासँगको संवाद र छलफल सामान्य हो । कोही भेट्न आउँछ भने भेट त गर्नुपर्‍यो नि,’ देउवाले बैठकमा भनेको कुरा उद्दृत गर्दै प्रमुख सचेतक श्याम कुमार घिमिरेले बताए । 

साथै सांसदहरुले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पार्टीको हैसियतअनुसार आफूहरुको कुरा नसुनेको भन्दै सभापति  देउवासँग गुनासो पोखेका छन् । सरकारले नियुक्ति र निर्णय प्रक्रियामा ढिलासुस्ती गरिरहेको र किन यस्तो भइरहेको हो भनेर सांसदहरुले गुनासो गरेको प्रवक्ता प्रकाशशरण महतले बताए ।

‘स्वभाविक रुपमा ठूला दुई पार्टीको गठबन्धन छ । हाम्रा कुराहरु यथेष्ट सुनिएन कि भन्ने चासो, चिन्ता हुनु स्वभाविक हो । नियुक्तिहरु अलमलमा परेको छ । अनावश्यक रुपमा ढिलाइ भइराखेको छ । किन ढिला भएको हो, किन त्यसो भयो? यी तमाम कुराहरुमा पार्टीले त चासो राख्छ नि । गभर्नको कुरा, अरु पनि निर्णय प्रक्रियाहरुमा चाहीँ हाम्रो जुन हैसियत छ, त्यो अनुसार हाम्रो कुरा सुनिनुपर्यो । निर्णय प्रक्रियामा अलमल हुन भएन भन्ने कुरामा हाम्रो पार्टी पंत्तिले चासो चिन्ता राख्नु स्वभाविक नै हो,’– बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता महतले भने ।

त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी सभापति देउवालाई फोन गर्नु र जनार्दन शर्माले भेट्नु संयोगमात्रै रहेको पनि उनले बताए । मध्यपहाडी लोकमार्ग केन्द्रीत पार्टीको अभियानमा रहेका प्रचण्डले हिजो डडेलधुराबाट देउवालाई फोन गरेका थिए । त्यसको केही समयपछि जनार्दन शर्मा देउवा भेट्न बुढानीलकण्ठ नै पुगेका थिए । ‘शेरबहादुर देउवाजीकै जिल्लामा गएको बेलामा फोन गरौं भन्ने लाग्यो होला । पहिला ओलीजीले पनि गर्नुभएको थियो । जनार्दनसँग भेट्नमा त्यस्तो केही छैन । संयोगमात्रै हो,’– नेता महतले भने ।

बैठकमा सांसदहरूले समान ढंगले बजेटको वितरण हुनुपर्ने लगायतका सुझाव दिएका थिए । आजको बैठकमा बजेटलगायतका विविध विषयमा छलफल गरिएको थियो । प्रमुख सचेतक घिमिरेका अनुसार सांसदहरूले बजेटको विषयमा भएको छलफलमा सक्रियतापूर्वक सहभागिता जनाएका थिए । उनले भने, ‘सांसदहरूले बजेट वितरणको कुरा, सबैलाई समान ढंगले वितरण गर्नुपर्ने कुरा तथा सन्तुलित विकास हुनुपर्ने कुरा राखेका थिए । 

शनिबार ४ जेठ २०८२ ०८:३२ PM मा प्रकाशित

प्रतिक्रिया