रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ । मंगलबार दिउँसो मतगणना सम्पन्न हुँदा अध्यक्षमा माओवादी केन्द्रका गणेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउले विजयी भएको निर्वाचन अधिकृतको कार्यालय त्रिवेणीले जनाएको छ ।
अध्यक्षमा केसीले पाँच हजार १२९ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अमरसिं खड्काले चार हजार २९३ मत प्राप्त गर्नुभएको छ । एमालेका चोपलाल खडकाले १५८, नेकपा एकीकृत समाजवादीका धनराज खड्काले ५५ र राप्रपाका डिल्ली बहादुर खड्काले ५ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
उपाध्यक्षमा निर्वाचित रेउलेले पाँच हजार १४३ मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सृष्टि बाँठा मगरले चार हजार ३१३ मत प्राप्त गर्नुभएको छ । एमालेकी धनकला बिष्टले १५६ मत प्राप्त गर्नुभएको छ ।
१० वडा रहेको त्रिवेणी गाउँपालिकामा ५ वडामा माओवादी, ४ मा कांग्रेस र १ वडामा स्वतन्त्रका उम्मेदवार विजयी हुनुभएको छ ।
प्रतिक्रिया