×

निर्वाचन हुँदैन कि भन्ने शङ्का कसैले नगरे हुन्छ-मन्त्री कुलमान घिसिङ

images

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक्त समाजको अपेक्षा गरेको बताएका छन् ।

कैलालीको जानकी गाउँपालिकाले आज आयोजना गरेको विकास निर्माणसम्बन्धी सरोकारवालासँग भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री घिसिङले जनताले तत्काल कामको नतिजा खोजेको बताएका हुन् ।  ‘हामी अहिले जनताको माझमा जाँदै गर्दा धेरै ठूलो अपेक्षा भेटाएका छैनौँ’, उनले भने, ‘जनताको अपेक्षा चुस्तदुरुस्त सेवा प्रवाह, आर्थिक पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार मुक्त समाज छ ।’

मन्त्री घिसिङले जनताका मूलभूत विषयमा वर्तमान सरकार गम्भीर भएर लागेको उल्लेख गर्दै विकास निर्माणका काममा पनि योजनाबद्ध रुपमा काम भइरहेको बताए । हरेक क्षेत्रका योजना कार्यान्वयनमा जटिलता रहेकाले त्यसलाई सहज बनाउँदै जनताले अनुभूति हुने गरी काम हुनुपर्नेमा उनले जोड दिए ।

‘अहिले जनताको अपेक्षा द्रुत विकास होस् भन्ने हो । त्यो अपेक्षाअनुसार छोटो समयमा काम गर्न चुनौती छ’, मन्त्री घिसिङ भन्छन्, ‘बत्तीको उज्यालोले मात्रै देश समृद्ध बन्न सक्दैन । देश समृद्ध बन्न सबै क्षेत्र उज्यालो हुन आवश्यक छ ।’

सरकारले घोषणा गरेकै मितिमा निर्वाचन हुने मन्त्री घिसिङले बताए । ‘निर्वाचन हुँदैन कि भन्ने शङ्का कसैले नगरे हुन्छ । निर्वाचन निर्धारित समयमा नै हुन्छ’, उनले भने, ‘बरु निर्वाचन पछिको सरकार कस्तो बनाउने भन्ने जिम्मेवारी जनताको हातमा छ ।’

हिजोको जस्तो परिस्थिति अबका दिनमा जनताले नचाहेको बताउँदै मन्त्री घिसिङले निर्वाचनमा सक्षम उम्मेदवारलाई चुन्न आग्रह गरे । रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट उत्पादन भएको विद्युत्को स्वामित्व स्थानीय किसान पाउने उनले बताए ।

‘जसरी ३८ हजार हेक्टर क्षेत्रफलमा किसानले सिँचाइको सुविधा पाउँदै हुनुहुन्छ, त्यसैगरी विद्युत्को केही प्रतिशत स्वामित्व पनि यस क्षेत्रका किसानको हुने छ । त्यसैअनुसार ऐन निर्माणको अन्तिम तयारीमा छ ।’

मङ्गलबार १ पुस २०८२ ०८:५७ PM मा प्रकाशित

प्रतिक्रिया