×

एमालेको चुनाव चिह्न लिँदा हारिन्छ, त्यसैले माओवादी रोजेँ - वामदेव गौतम

images

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न रोजेको बताएका छन् । मंगलवार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानुनबारे जानकारी लिन निर्वाचन आयोग पुगेका गौतमले यस्तो बताएका हुन् । 

नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका उनले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको बताए ।  गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारको रुपमा रहने जिकिर गरे । 

उनले नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिष्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको जिकिर गरे ।  हँसिया हथौडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसावले अरु सबै गठबन्धन र पार्टी भन्दा अघि रहेकाले माओवादीको चिह्नबाट जित्न सहज भएको उनको जिकिर छ । उनले इमान्दारिसाथ गठबन्धन गर्ने हो भने अन्य पार्टीले जित्ने ठाउँ र आधार नै नरहेको जिकिर गरे । उनले गठबन्धनमा नै विद्रोही निस्किएको खण्डमा केही ठाउँमा अन्य पार्टीले जित्ने तरपनि गठबन्धन अगाडि नै रहने दाबी गरे ।   

निर्वाचन जितेपछि प्रधानमन्त्री बन्ने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीको कुराले सबैकुरा बिग्रिने भन्दै प्रश्न नगर्न आग्रह गरे ।   

मंगलवार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले नेता गौतम र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरुलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा सहभागी हुन पार्टीको चुनाव चिन्ह दिने निर्णय गरेको थियो ।  

मङ्गलबार ३१ साउन २०७९ ०५:१५ PM मा प्रकाशित

प्रतिक्रिया