काठमाडौं । नेकपा (एमाले)को महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । ११औं महाधिवेशनको उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुनुअघि केपी ओली र ईश्वर पोखरेलले पदाधिकारीमा आफ्नो उम्मेदवार टुंगो लगाएका हुन् । जसमा अध्यक्षमा ओली र पोखरेलबीच प्रतिस्पर्धा हुनेछ । ओली पक्षले महासचिवमा शंकर पोखरेललाई नै अघि सार्ने निर्णय गरेको छ भने पोखरेल समूहले सुरेन्द्र पाण्डेलाई महासचिवको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शंकर १०औं महाधिवेशनबाट महासचिव निर्वाचित भएका थिए भने पाण्डे उपाध्यक्ष निर्वाचित भएका थिए । महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ । केन्द्रीय निर्वाचन आयोगले सार्बजनिक गरेको निर्वाचन तालिका अनुसार आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । मतदान भने भोलि हुनेछ ।
एमालेको नयाँ नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल नै बनाएर निर्वाचनमा जाने तयारी गरेका छन् । पछिल्लो सहमती अनुसार ओली समूहबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकालको नाम तय गरिएको स्रोतले जनाएको छ ।
यस्तै, सचिवमा लेखराज भट्ट, छविलाल विश्ववकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई र महेश बस्नेतको नाम सिफारिस गरिएको छ । भट्ट, विश्वकर्मा र अर्याललाई पुनः निरन्तरता दिने निर्णय गरिएको छ । उनीहरु १०औँ महाधिवेशनबाट सचिव बनेका थिए । त्यस्तै, महासचिवमा पोखरेल र उपाध्यक्ष पौडेल, थापा र बराललाई पनि पुनः निरन्तरता दिन लागिएको हो ।
प्रतिक्रिया