×

बौद्धगुरु ४१औँ साक्या गोङ्मा ठ्रिछेन् रिन्पोछे बाट २० हजारलाई दुर्लभ महाभिषेक प्रदान

images


काठमाडौँ, २८ असोज: बौद्धगुरु ४१औँ साक्या गोङ्मा ठ्रिछेन् रिन्पोछेबाट बौद्धस्थित तारागाउँ सङ्ग्रहालयको खुला चौरमा करिब २० हजार श्रद्धालुहरुले आर्य अवलोकितेश्वरको दुर्लभ महाभिषेक (वाङ्छेन) ग्रहण गरेका छन् । करिब तीन घण्टा लामो महाभिषेकका क्रममा गुरु रिन्पोछेले करुणा र शून्यताको गहन दर्शनमाथि प्रकाश पार्दै दीक्षा प्रदान गर्नुभयो । 

गुरु रिन्पोछेले राग, द्वेष र मोहले रोगी बनेका मानिसले काय, वचन र चित्त विशुद्धि गर्दै समस्त प्राणी आफ्नै नाता कुटुम्ब सम्झेर करुणासँगसँगै बोधिचित्त उत्पाद गर्न आह्वान गर्नुभएको थियो ।

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शान्ति दीपप्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको धार्मिक समारोहमा बज्राचार्य गुरुबाट स्वस्तिवाचन गरिएको र बौद्ध स्तूपमाथि हेलिकोटरबाट पुष्पवृष्टि गरिएको थियो ।

महाअभिषेक ग्रहण कार्यक्रममा विभिन्न बौद्ध गुम्बासँग आबद्ध अनुयायीहरु, विदेशीका साथै नेवार एवं मधेसी समुदायका मानिसको उल्लेख्य सङ्ख्यामा उपस्थिति थियो । आयोजक व्योम कुसुमा बुद्धधर्म सङ्घका अनुसार, यो भारत वर्षीय महासिद्ध मैत्रीयोगी (जगन्मित्रानन्द) परम्पराको असाधारण आर्य अवलोकितेश्वरको महाभिषेक हो ।

 विश्वशान्ति, सद्भाव, भाइचारा र मानवताका लागि सकारात्मक ऊर्जा र सद्भाव प्रवाह गर्ने महाभिषेकको उद्देश्य हो । गुरु ठ्रिछेन् रिन्पोछे चारै बौद्ध सम्प्रदायबाट सम्मानित गुरु हुनुहुन्छ ।

आइतबार​ २८ असोज २०८० ०४:१६ PM मा प्रकाशित

प्रतिक्रिया