×

आजदेखि इन्द्रजात्रा सुरु

images

काठमाडौं । आइतबार भाद्र शुक्ल द्वादशी, आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा  प्रारम्भ हुँदैछ। वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ। 

हनुमानढोका अगाडि इन्द्रध्वजसहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ । असोज १ गते मङ्गलबार इन्द्रजात्राको मुख्य दिन हो । उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले उक्त दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा मनाउने गरिन्छ । यो काठमाडौंमा मनाइने विविध जात्रामध्येको प्रमुख हो ।

इन्द्रजात्राको पहिलो दिन दोबाटो–चौबाटोमा यमद्यः उभ्याउने प्रचलन रहेको छ । इन्द्र यमद्यको रूपमा बन्दी बनाएर राखेको थाह पाएपछि आमा वसुन्धरा डाकिनीको रूप लिएर पृथ्वीमा आइन् र सित र हुस्सु सिर्जना गरेर कसैले नदेख्ने गरी छोरा देवराजलाई स्वर्गमा लगेको किंवदन्ती छ । छोरालाई भगाउन स्वर्गबाट ऐरावत हात्तीसमेत ल्याइएकाले जात्राको अन्तिम दिन ऐरावत हात्ती अर्थात् स्थानीय नेवारी भाषामा पुलुकिसी भनिने जात्रा मनाउने प्रचलन पनि रहेको छ ।

आइतबार​ ३० भदौ २०८१ ११:५४ AM मा प्रकाशित

प्रतिक्रिया