काठमाडौँ, असार ३१ । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेट अगाडि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आकस्मिक चक्काजाम र प्रदर्शन गरेको छ। निषेधित क्षेत्र तोकिएको उक्त अति संवेदनशील सडक खण्डमा बुधबार बिहान भएको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरी अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित ६ जना उच्च तहका विद्यार्थी नेताहरूलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरु
दीपक धामी – केन्द्रीय अध्यक्ष, अनेरास्ववियु
जितप्रसाद सिटौला – अध्यक्ष, केन्द्रीय निर्वाचन आयोग
विशाल खड्का – केन्द्रीय सचिवालय सदस्य
रवि मगर – संयोजक, उपत्यका विशेष बागमती प्रदेश
विष्णु उपरकोटी – केन्द्रीय सदस्य
सुदीप थापा – सचिव, कानुन राष्ट्रिय कमिटी
सिरिस बुढाथोकी – विद्यार्थी नेता
सञ्चार माध्यमहरूको गेट र मुख्य सडक खण्डमा भएको शंकास्पद पार्किङको विरोध तथा मुलुकमा पछिल्लो समय राज्य आतंक बढेको, विधिको शासन मिचिएको र गरिबका आवाजहरू दबाइएको भन्दै अनेरास्ववियु आन्दोलनमा उत्रिएको हो।
प्रदर्शनकारीहरूले सिंहदरबारको दक्षिण ढोका अगाडिको मुख्य सडकको बीचभागमै आफ्ना मोटरसाइकलहरू तेर्स्याएर पार्किङ गरी आकस्मिक रूपमा सडक ठप्प पारेका थिए। हातहातमा ‘गरिबको आवाज दबाउन पाइँदैन’ र ‘राज्य आतंक बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका विद्यार्थीहरू सडकमा उत्रिएपछि केही बेर सिंहदरबार र आसपासको क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा प्रभावित बनेको थियो।
निषेधित क्षेत्रमा प्रदर्शन र चक्काजाम हुनासाथ तत्कालै ठूलो संख्यामा खटिएको प्रहरी टोलीले बल प्रयोग गरी प्रदर्शनकारीहरूलाई सडकबाट हटाएको थियो। सो क्रममा सडकमा राखिएका मोटरसाइकलहरू प्रहरीले नियन्त्रणमा लिई यातायात सुचारु गराएको थियो।
प्रहरीले पक्राउ परेका सबै नेताहरूलाई तत्काल हिरासतमा राखेको छ। यता अनेरास्ववियुले भने शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले बर्बर दमन गरेको भन्दै चर्को विरोध जनाएको छ। संगठनले पक्राउ परेका आफ्ना नेतृत्व र कार्यकर्ताहरूलाई विनासर्त तुरुन्त रिहा नगरे आन्दोलनलाई देशव्यापी रूपमा थप सशक्त र आक्रामक बनाउने चेतावनी दिएको छ। घटनापश्चात् सिंहदरबार र आसपासका संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
प्रतिक्रिया