×

परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध सशक्त प्रतिवाद गरौँ : प्रचण्ड

images

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको भावना विपरित गएर संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले जनताले सङ्घर्ष गरेर स्थापित गरेका परिवर्तनका मुद्दा कार्यान्वयन हुन नदिने अनेकन खालका षड्यन्त्र विगतमा पनि भएको र अहिले पनि त्यस्ता प्रवृत्ति कायम रहेकाले प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।
 
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एमाले नुवाकोटका नेता माधव पाण्डेलगायतलाई माओवादी प्रवेश गराउँदै प्रचण्डले यसअघि पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र भएको भन्दै परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध कडा सङ्घर्ष गर्नु आवश्यक रहेको बताउनुभयो ।

देशको समृद्धि र आर्थिक विकासको नेतृत्वकर्ताका रूपमा माओवादी नै जनताको बीचमा स्थापित भएको उहाँको भनाइ छ । मधेसी, थारु, आदिवासी, जनजातीलगायत सबै समुदायको पहिचान र अधिकार माओवादीकै कारण स्थापित भएको तथ्य पेश गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा माओवादीलाई मत दिने आधार समेत जनतामा स्पष्ट रहेको बताउनुभयो ।
 
यस्तै, माओवादीको पूर्व स्थायी समितिका उपलब्ध सदस्य र प्रदेश इन्चार्जको अनौपचारिक बैठकमा समसामयिक राजनीतिक परिस्थिति र स्थानीय चुनावमा सत्ता गठबन्धनमा भएको तालमेलसम्बन्धी विषयमा छलफल भएको थियो । अध्यक्ष प्रचण्डले पछिल्ला राजनीतिक विषयमा बैठकलाई जानकारी गराउनुभएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
 
सो अवसरमा गठबन्धनमा सहभागी सबै राजनीतिक दललाई एकताबद्ध बनाएर चुनावमा केन्द्रित गर्न पार्टीको तर्फबाट अधिकतम पहल गर्ने तथा परिणाम देखिने गरी चुनावमा सिङ्गो पार्टी पङ्क्तिलाई केन्द्रित गर्ने विषयमा छलफल भएको थियो ।

स्थानीय तहको चुनाव नजिकिएसँगै देशव्यापी रूपमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा पार्टी प्रवेशको लहर बढेको उल्लेख गर्दै पूर्वस्थायी समिति सदस्य तथा प्रदेश इन्चार्जहरूको बैठकमा माओवादी केन्द्रमा एकीकृत हुने प्रक्रियालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिइएको थियो ।

बैठकमा पार्टी विस्तारका लागि प्रदेशमा पहल बढाउने विषयमा समेत छलफल भएको थियो । पार्टी प्रवेश गर्ने सबैको राजनीतिक पृष्ठभूमि र योगदानको मूल्याङ्कन गरी उचित भूमिका दिने सम्बन्धमा आवश्यक मापदण्ड बनाउने निर्णय भएको छ ।

शुक्रबार​ २ बैशाख २०७९ ०८:५० PM मा प्रकाशित

प्रतिक्रिया