×

प्रम दाहाललाई भारत भ्रमणको निम्तो नदिई फर्किए क्वात्रा

images

काठमाडौं। नयाँ सरकार बनेपछि पहिलोपटक भारतीय विदेश सचिवको हैसियतमा नेपाल आएका विनयमोहन क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग औपचारिक भेटवार्ता गरे पनि ‘भारत भ्रमण’को निम्तो भने दिएनन् ।

नेपालमा आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनले सरकार फेरबदल हुने आशंकाबीच भारतले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निमन्त्रणा नदिएको हो ।

‘भोलिको राजनीतिक परिदृश्य के हुन्छ ?’ त्यो हेरेर मात्रै भारतले प्रचण्डलाई भ्रमण निम्तो दिने संकेत देखाएको छ । राष्ट्रपति विषयलाई लिएर अहिले सत्तारूढ गठबन्धन दल र प्रमुख विपक्षी नेपाली कांग्रेसबीचको टकराव भइरहेकै बेला भारत ‘यो सरकार कति दिन टिक्छ ?’ भनेर आ“कलन नगरी प्रचण्डलाई भारत भ्रमणको निम्तो दिन चाहँदैन ।

दुई दिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश सचिव क्वात्रा विदेश सचिवस्तरीय बैठकमा आएको भनिए पनि उनी सोमबार र मंगलबार राजनीतिक भेटघाटमा व्यस्त भए ।

क्वात्रा नेपाल भ्रमणमा आउँदा ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा सन्देश बोकेर आउँछन्’ भन्ने आँकलन थियो । तर, विदेश सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग औपचारिक छलफल गरे र दुई पक्षीय हित विषयमा मात्रै कुरा गरे । भ्रमण विषयमा उचित वातावरण तय भएपछि मिति तय हुने भारतीय पक्षले जनाएको छ ।

त्यसो त, प्रधानमन्त्री प्रचण्ड नियुक्तिलगतै भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा आफ्नो पहिलो भ्रमण भारतबाट हुने बताएका थिए ।

प्रचण्डले प्रधानमन्त्री नियुक्तिलगत्तै आफ्नो पहिलो राजनीतिक भ्रमण भारतबाट हुने बताउनुले पनि भारतीय पक्ष ढुक्क छ । यसअघि प्रचण्डले सन् २००८ मा प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण चीनतर्फ गरेका थिए । त्यसपछि ‘भारत रिसाएको’ भन्दै आफ्नो राजनीतिक भ्रमण भारतबाटै हुने बताएका थिए ।

अहिले पनि दाहालले पहिलो भ्रमण भारतबाटै हुने प्रतिबद्धता जनाएका छन् । राजधानी दैनिकबाट

बुधबार ३ फागुन २०७९ ०८:४८ AM मा प्रकाशित

प्रतिक्रिया