×

यती एयरलाइन्सको विमान दुर्घटना- लोकगायिका छन्त्यालको मृत्यु, ११ जनाको सनाखत

images

काठमाडौ ।  यती एयरलाइन्सको विमान दुर्घटनामा परेर लोकगायिका निरा छन्त्यालको मुत्यु भएको छ भने अहिलेसम्म ५ जनाको शव सनाखत भएको छ। छन्त्यालको मृत्यु भएको खबर उनकी दिदी हिरा छन्त्यालले पुष्टि गरेकी छन्।

गायिका छन्त्याल पोखरामा आयोजना हुने चौथो संगबहादुर तथब्जा स्मृति कप कार्यक्रममा सहभागी हुन जान लागेकी थिइन्। उनले आजै बिहान आफ्नो एक तस्बिर सार्वजनिक गर्दै माघे संक्रान्तिको शुभकामनासमेत दिएकी थिइन्।

‘माघे संक्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्छु,’ उनले लेखेकी थिइन्।

गायिका छन्त्यालको मृत्यु भएको जानकारी पाएसँगै पोखरामा आयोजना हुने भनिएको कार्यक्रम स्थगित गरिएको आयोजक संस्थाका सचिव नवीन घर्ती छन्त्यालले बताए।

यस्तै फेला परेका ६८ जनाको शवहरु मध्ये ११ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमल्सिनाले बताए।

सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया,  लक्ष्मी पौडेल,  प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ रहेका छन् ।

यस्तै कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको अस्पताल प्रशासनले जनाएको छ ।

आज बिहान काठमाडौंबाट पोखरा उडेको एटिआर जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो। विमानमा दुई पाइलट, दुई जना एयर होस्टेससहित ७२ जना यात्रु सवार थिए।

आइतबार​ १ माघ २०७९ ०४:५१ PM मा प्रकाशित

प्रतिक्रिया