×

वाम गठबन्धनको नयाँ इनिङ: सुदूरपश्चिमको पाँचौँ मुख्यमन्त्री बने खगराज भट्ट, लिए पद तथा गोपनीयताको शपथ

images

धनगढी। सुदूरपश्चिम प्रदेशमा नयाँ सत्ता समीकरणअनुसार नयाँ सरकार गठन भएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री नियुक्त भएसँगै शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । केन्द्रमा बनेको नयाँ वाम गठबन्धनको समझदारीअनुसार नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको थियो, जसमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको समर्थन रहेको थियो ।

एमालेबाट चार जना मन्त्रीको पनि शपथ

मुख्यमन्त्री भट्टको शपथ ग्रहणलगत्तै एमालेबाट सरकारमा सहभागी हुने मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । पहिलो चरणमा गठित चार सदस्यीय मन्त्रिमण्डलमा एमालेका तर्फबाट निम्न नेताहरू सहभागी भएका छन् :

  • सन्तोषकुमारी थापा शर्मा: सामाजिक विकास मन्त्री 
  • चक्र बहादुर मल्ल: आर्थिक मामिला मन्त्री 
  • दमन भण्डारी: भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री 
  • जानकी ऐर बम: आर्थिक मामिला राज्यमन्त्री 

मुख्य साझेदार दल नेकपाका तर्फबाट भने मन्त्रीहरूको नाम टुङ्गो लाग्न बाँकी रहेकाले आज कसैले शपथ लिएनन् । दुई दलबीच भएको शक्ति बाँडफाँडको समझदारीअनुसार ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्नेमा नेकपाका २० र एमालेका ११ गरी स्पष्ट बहुमत रहेको छ । समझदारीअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय सम्हाल्नेछन् ।

'सके राम्रो काम गर्ने, गलत नगर्ने' प्रतिवद्धता

मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै नवनियुक्त मुख्यमन्त्री भट्टले आफ्नो कार्यकालमा सुदूरपश्चिमको स्वाभिमान, संवैधानिक मर्यादा र जनताको अटल विश्वासलाई शिरोपर गरेर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, "म सत्ता र कुर्सीका लागि जे पनि सम्झौता गर्ने संस्कारबाट निर्देशित छैन । मेरो प्रयास सुदूरपश्चिममा सुशासन दिनु र सकेसम्म राम्रो काम गर्नु हुनेछ, तर गलत काम कदापि गर्ने छैन "


शुक्रबार​ २९ साउन २०८३ ०८:५६ PM मा प्रकाशित

प्रतिक्रिया