×

प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु नै धर्नामा

images

प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरु नै धर्नामा बसेका छन् ।

सङ्घीय सरकारले प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण र समायोजन नगरेको भन्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, गृह तथा सञ्चार मन्त्री भरत साह, राज्य मन्त्री रुवि कर्ण, खानेपानी तथा ऊर्जा मन्त्री ओमप्रकाश शर्मा र नागरिक समाजका प्रतिनिधिहरु प्रदेश प्रमुखको कार्यालय अघि धर्नामा बसेका हुन् ।

आजदेखि सुरु भएको धर्ना कार्यक्रम एक हप्तासम्म चल्नेछ । हिजो गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गर्दै पहिलो चरणको आन्दोलनको घोषणा गर्नुभएको थियो । एक हप्तासम्म पनि सङ्घीय सरकारले माग पूरा नगरेमा दोस्रो चरणमा कडा आन्दोलन गर्ने मन्त्री साहको चेतावनी छ । उहाँले तत्कालै प्रहरी समायोजनको काम थालेर चुनाव अघि नै प्रहरीलाई प्रदेश मातहत ल्याउनुपर्ने बताउनुभयो ।

प्रदेश सरकारले प्रदेश प्रहरी ऐन २०७५ सालमै पारित गरिसकेको र सङ्घीय सरकारले पनि प्रहरी समायोजन गर्ने ऐन पारित गरिसकेकोले अब रोक्नुपर्ने कुनै पनि कारण नभएको मधेस सरकारको भनाइ छ  ।  प्रहरी र शान्ति–सुरक्षासम्बन्धी अधिकार प्रदेशको क्षेत्राधिकारभित्र रहेको भन्दै प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकार मातहत ल्याउनुपर्ने मधेस प्रदेश सरकारको माग छ। 

आइतबार​ २९ साउन २०७९ ०२:०७ PM मा प्रकाशित

प्रतिक्रिया