×

मुद्रणका जनशक्ति स्वदेशमानै तयार गर्नुपर्ने

images

नेपालमा मुद्रणसँग सम्बन्धित उद्योगमा दक्ष जनशक्तिको अभाव भएको भन्दै यो विषयलाई नेपाली पाठ्यक्रममा समावेश गरेर जनशक्ति उत्पादन गर्नुपर्ने यससम्बन्धी उद्योगीको माग रहेको छ । यहाँका धेरै उद्योगमा प्राविधिक काम गर्ने अधिकांश जनशक्ति भारतीय रहेका छन् । 

नेपाल मुद्रण उद्योग महासङघका अध्यक्ष खोमकान्त रेग्मीले ठूलो जनशक्तिको माग हुने मुद्रण उद्योगमा प्राविधिक जनशक्ति स्वदेशी निकै कम रहेको बताउनुभयो । उहाँको भनाइमा देशका चार हजार उद्योगमा एक लाख जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यतिनै सङ्ख्यामा अप्रत्यक्ष रोजगार पाउनेहरु रहेका छन् ।

 यस क्षेत्रमा रु ८५ अर्ब भन्दा बढी लगानी छ । उहाँले कक्षा ९ देखिनै प्राविधिक जनशक्ति उत्पादन गर्न सक्ने गरी पाठ्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो । उच्च शिक्षा अध्ययनसँगै स्वदेशमानै रोजगारी पाउने गरी मुद्रण क्षेत्रमा उपयोगी शिक्षा दिन महासङ्घको माग रहेको रेग्मी बताउनुहुन्छ । 


विदेशमा यससँग सम्बन्धित पढाइका लागि विश्वविद्यालयनै स्थापना गरिएको भन्दै उहाँले पहिलो चरणमा पाठ्यक्रम हुँदै उच्च शिक्षा पढाउने कलेज खोल्नुपर्ने बताउनुभयो । नेपालका छापाखानामा बाहिरबाट आएका कतिपय प्राविधिक जनशक्तिले मासिक रु तीन लाख भन्दा बढी पारिश्रमिक पाउने गरेका छन् । स्वदेशमा यस्ता जनशक्ति नहुँदा ठूलो रकम बाहिर जाने गरेको छ । उहाँले भन्नुभयो “सरकारले पढाइदिए ठूलो रकम यहाँ रोकिन्छ । स्वदेशीले रोजगार पाउँछन् ।”

नेपालका उद्योगमा धेरै तलब खाने प्राविधिक जनशक्ति आधा भन्दा बढी भारतीय छन् । कतिपय नेपाली विद्यार्थीलाई मुद्रण उद्योगले विदेशी क्याम्पसमा पढ्न पठाएका छन् । अमेरीका, युरोप लगायतका देशमा अनुभव हासिल गरेर स्वदेश फर्किएर उद्योग चलाउने पनि छन् । सेक्युरिटी प्रिन्टिङ्को काम सरकारले गरेर निजी क्षेत्रलाई पुस्तक छाप्ने जिम्मेवारी दिएमा बाहिरीने ठूलो रकम जोगिने अध्यक्ष रेग्मीको तर्क छ । 

हाल सरकारले कक्षा १ देखि तीन सम्मको मात्र पुस्तक छपाइका लागि निजी छापाखानालाई जिम्मेवारी दिँदै आएको छ । पहिले पहिले कक्षा ८ सम्मको पुस्तक छाप्न निजी क्षेत्रलाई दिने गरिएको थियो । छपाइका सबै काम नेपालमानै गर्न सकेमा अबौँं रुपैँया स्वदेशमा बस्ने र समयमानै विद्यार्थीले पुस्तक पाउने रेग्मी बताउनुहुन्छ । पाठ्यपुस्तक छाप्नका लागि यहाँका उद्योगीले ठूला मेसिन भित्र्याएका छन् । 

बिहीबार ३० असार २०७९ ०२:१७ PM मा प्रकाशित

प्रतिक्रिया