×

उपसभामुखमा सत्तारुढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसालको मनोनयन दर्ता

images

प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराउनु भएको छ । उहाँले केहीबेर अघि मनोनयन दर्ता गराउनु भयो । मनोनयनका लागि अघि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय तोकिएको छ । आजै उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

कार्यतालिकाअनुसार भोलि दिउँसो तीन बजे बस्ने प्रतिनिधि सभामा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ । उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उम्मेदवारी दिने तयारी गरेको छ । त्यसका लागि एमाले अहिले छलफलमा छ ।  

उपसभामुख चयनका लागि भोलि दिउँसो ३ बजे बोलाइएको संसद् बैठकमा चुनाव हुनेछ । उपसभामुखमा एक जनाको मात्र प्रस्ताव परेमा निर्विरोध चयन हुनेछ । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि २९ महिनासम्म यो पद रिक्त थियो । तत्कालीन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार  बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिनुभएको थियो ।

प्रतिनिधि सभाको सभामुख तथा उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ । यो व्यवस्था अनुसार अब माओवादी केन्द्रबाहेकका दलबाट महिला नै उपसभामुखको उम्मेदवार हुनेछन् । प्रतिनिधि सभा चुनावको मिति घोषणाको तयारी  भइरहँदा उपसभामुख चयनमा दलहरू सहमत भएका हुन् । 

बिहीबार ३० असार २०७९ १२:११ PM मा प्रकाशित

प्रतिक्रिया