×

निर्वाचन आयोग निर्वाचन आचारसंहिता छलफलकै क्रममा

images

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आचारसंहिता तयार भइरहेको बताएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहितालाई अन्तिम रुप दिन आयोग र कानुन मन्त्रालयबीच छलफल भइरहेको बताए ।

सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले आचारसंहिता निर्माण र छलफलकै क्रममा रहेको बताएका हुन् । ‘आचारसंहिता निर्माण र छलफलकै क्रममा छ । पास भएपछि राजपत्रमा प्रकाशित हुन्छ । कहिलेदेखि लागु हुन्छ भन्नेमा आयोगले निर्णय गरेदेखि लागु हुन्छ’, पौडेलको भनाइ छ ।  

उनले साना दलले निर्वाचन चिन्हप्रति गरेको गुनासोबारे पनि आयोगले प्रचलित कानुनको अधिनमा रहेर निर्णय गर्ने बताए । ‘प्रचलित कानुनको अधिनमा रहेर के गर्न सकिन्छ त्यसबारे आयोगले सोचिरहेको छ, तर निर्णय भैसकेको छैन’, पौडेलको भनाइ छ । त्यस्तै आयोगले निर्धारण गरेको उम्मेदवारको खर्चलाई विभिन्न संयन्त्रबाट अनुगमन गर्ने व्यवस्था मिलाएको जनाएको छ । ‘आयोगको विश्वास निर्वाचन खर्चिलो हुनुहुँदैन भन्नेछ । त्यसका लागि आयोग आफैले पनि कतिपय खर्च कटौती गरेको छ ।

यसमा दलहरुले पनि आचारसंहिताको पालना गर्नुपर्छ । निर्वाचन भड्किलो बनाउनुहुँदैन भन्ने कुरालाई सवैले स्वीकार गर्नुपर्छ’, प्रवक्ता पौडेलको भनाइ छ । आयोगले कतिपय निर्वाचन सामग्री नेपालमा उत्पादन नहुने भएकाले ति सामग्री बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको पनि जनाएको छ । ‘स्वस्तिक छाप यहाँ उपलव्ध हुन्न । त्यसकारण त्यस्तो चिज बाहिरबाट ल्याउनुपर्ने हुन्छ’, प्रवक्ता पौडेको भनाइ छ ।

 

सोमबार ३० फागुन २०७८ ०४:४८ PM मा प्रकाशित

प्रतिक्रिया