×

माओवादी सांसदहरूको प्रश्न : एमालेको अर्थ विभागमा रहेका एम अधिकारी को हुन् ?

images

नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्य बनेका एम अधिकारी भन्ने व्यक्तिको बारेमा संसदमा प्रश्न उठेको छ । 

प्रतिनिधि सभाको आज बुधवारको बैठकमा माओवादी केन्द्रका सांसदहरूले एमालेको अर्थ विभागमा रहेका एम अधिकारी खोटाङ भन्ने व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हुन् कि होइनन् भनेर प्रश्न गरेका हुन् । माओवादी केन्द्रकी सांसद रेखा शर्माले राष्ट्र बैंक ऐन तथा नियमावलीअनुसार गभर्नर र डेपुटी गभर्नर कुनै पनि दलमा आबद्ध व्यक्ति नियुक्ति हुन नमिल्ने व्यवस्था रहेको भन्दै यसबारे छानबिन गर्न माग गर्नुभएको छ ।  

माओवादी केन्द्रकी अर्की सांसद अमृता थापाले पनि यसबारे छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गर्नुभयो । 

नेकपा एमालेले असार २६ गते जारी गरेको अन्तर पार्टी निर्देशनको अर्थ विभागमा उल्लेख एम अधिकारी खोटाङ को हुन् भन्नेबारे बहस भइरहेको छ । धेरैले एम अधिकारी भनेको गभर्नर महाप्रसाद अधिकारी नै हो भने पनि अधिकारीले भने ट्विटरमार्फत एमाले अर्थ विभागमा रहेको मानिस आफू नभएको बताउनुभएको छ । 

बुधबार २९ असार २०७९ १२:१४ PM मा प्रकाशित

प्रतिक्रिया