×

ठेक्का प्रणालीबाट नेपालमा मल ल्याउन गाह्राे छ : मन्त्री यादव

images

कृषि तथा पशुपक्षी विकास मन्त्री महेन्द्रराय यादवले ठेक्का प्रणालीबाट नेपालमा रासायनिक मलको समस्या समाधान नहुने भएकोले 'जीटूजी' प्रक्रियामार्फत भारतबाट मल ल्याउन लागेको बताउनुभयो । 

प्रतिनिधि सभामा सांसदहरूले साेधेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले अहिले विश्व बजारमा मल अभाव रहेको र मूल्य पनि चाँडो–चाँडो परिवर्तन हुने भएकाेले मल ल्याउनका लागि (दुई देशका सरकारबीचकाे सम्झाैता) जीटूजी प्रक्रिया उपयुक्त हुने बताउनुभयो । 

यस्तै मन्त्री यादवले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा उतारचढाव भएरहेकोले पनि समयमा मल उपलब्ध गराउन नसकेको बताउनुभयो । उहाँले कृषि सामग्री कम्पनी लिमिटेडले एक लाख पाँच हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले एक लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया सुरु गरे पनि समयमै ल्याउन नसकेको बताउनुभयो । उहाँले दुई लाख २२ हजार मेट्रिक टन मल ल्याउने प्रक्रियामै रहे पनि समयमै आपूर्ति हुन नसक्दा बजारमा अभाव देखिएको भन्दै समयमै मल आपूर्ति नगर्ने ठेकेदारको ठेक्का रद्द गरी आवश्यक कारबाहीको प्रक्रिया सुरु गरिएको बताउनुभयो ।  

उहाँले असारभित्रमा किसानलाई मल उपलब्ध गराउने दाबी गर्नुभयो । सबै पक्षको सहमति र सहकार्यविना मल ल्याउन कठिन हुने भएकोले यसमा सबै पक्षले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयाे । 

नेपालमा मलको समस्याको दिगो समाधान मल कारखाना उपयुक्त हुने भए पनि त्यो ढिला हुने भएकोले अहिलेका लागि सरकारले जीटूजी मार्फत मल ल्याउन लागेको भन्दै मन्त्री यादवले आफूले भारत भ्रमणको क्रममा मल ल्याउनेबारे धेरै प्रयास गरेको बताउनुभयो । उहाँले भारत सरकारले मल उपलब्ध गराउने प्रक्रिया अघि बढेको भन्दै असार १ गतेदेखि मूल्यबारे छलफल प्रक्रिया अघि बढाउने बताउनुभयो । 

सोमबार ३० जेठ २०७९ ०५:२२ PM मा प्रकाशित

प्रतिक्रिया