नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान विन्दु नै गलत भएको बताउनुभएको छ ।
आज सोमवार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान गठबन्धन सरकार बन्दै गर्दा नेपाली नागरिकको हित र देशको हितमा काम गर्नेभन्दा पनि अन्य देशका लागि 'कम्फर्टेबल' बन्ने गरी अगाडि बढेको आरोप लगाउनुभयो । ज्ञवालीले सरकारले पछिल्लो समय केही निर्णयहरू अरू देशका 'कम्फर्टेबल' बन्ने किसिमले गरेको पनि बताउनुभयो । उहाँले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा गरेका गतिविधिको कारण नेपालको परराष्ट्र सम्बन्धमा विचलन आएको बताउनुभयो । सरकारले शुरुमा नै चीनसँग कृत्रिम सीमा विवादको विषय निकालेर गल्ती गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारका कतिपय निर्णयहरू अरू देशका लागि कम्फर्टेबल बन्ने दिशातिर उन्मुख भएको देख्छु । सरकारले सुरुमा नै परराष्ट्र सम्बन्धमा गल्ती गर्याे । नेपालको भारतसँग सीमा समस्या छ । सीमासम्बन्धी कुनै सन्धि नै भारतसँग भएको छैन । अघिल्लो सरकारले सिङ्गो सदन एक भएर कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको नक्सा पास गर्याे । यो सरकारले कुटनीतिक तहबाट पहल गरेर भोगचलनमा ल्याउनुपर्ने हो तर सरकार त्यो काम नगरेर विवाद नै नभएको चीनसँग सीमा समस्या देखाउने काम गर्याे । सरकारले अध्ययन पनि गर्याे तर सदनलाई जानकारी गराएको छैन ।’
उपमहासचिव ज्ञवालीले सरकारले एउटा छिमेकी देशलाई खुसी पार्ने र अर्कोलाई चिढ्याउने काम गरेको आरोप लगाउनुभयो । उहाँले एउटा देशलाई रिझाउने र अर्कोलाई चिढ्याउने काम गर्नु उचित नभएको जिकिर गर्नुभयो । ज्ञवालीले विदेशी ऋण लिँदा नेपालको हित र राष्ट्रिय आवश्यकतालाई हेरेर लिन सरकारलाई सुझाव दिनुभयो ।
उहाँले प्रधानमन्त्रीको अमेरिका भ्रमण रक्षामन्त्री, नेपाली कांग्रेसको सभापति वा गठबन्धनको प्रधानमन्त्रीको हैसियतले हुन लागेको हो भन्नेबारे जानकारी दिन माग गर्नुभयो । ज्ञवालीले भन्नुभयाे, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण रक्षामन्त्रीको हैसियतले हुन लागेको हो ? योभन्दा अगाडि रक्षामन्त्रीको अमेरिका भ्रमण गर्ने तालिका थियो । त्यो हो कि ? प्रधानमन्त्रीको हो ? यो पनि सदनले थाहा पाउनुपर्याे । विभिन्न सम्झौता गर्ने कुराहरू सुनिएको छ । त्यो गम्भीर कुराहरूमा सम्झौता गर्ने हो भने एउटै स्वर बनाएर जानुपर्छ । नेपाली कांग्रेसको सभापति र गठबन्धनको प्रधानमन्त्रीको हैसियत नभएर देशको प्रधानमन्त्रीको हैसियतले जाने हो ।’
त्यस्तै बैठकमा सांसद शेख चाँदताराले सरकारले गरेका अन्तर्राष्ट्रिय गतिविधिको विषय देखेर दिक्क लागेको बताउनुभयो । उहाँले प्रतिपक्ष दल भीम रावल एक जना मात्रै राष्ट्रवादी भएर नहुने बताउनुभयो । सांसद चाँदताराले सत्तापक्ष तथा सबै सांसदले बोल्नुपर्ने बेला आएको बताउनुभयो । देशमा अन्तर्राष्ट्रिय देशबाट प्रतिनिधि आउने तर समितिलाई जानकारी नहुने, समितिका सांसदहरू तलब र भत्ता खानलाई मात्रै नभएको उहाँकाे भनाइ थियाे ।
प्रतिक्रिया