×

अमेरिका भ्रमणबारे प्रधानमन्त्री देउवाले संसद्, समिति र देशलाई जानकारी दिनुपर्छ : नेपाल

images

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारेमा संसद्, समिति र देशलाई जानकारी दिनुपर्ने बताउनुभएको छ । 

आज सोमवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्न उठेको भन्दै प्रधानमन्त्रीले संसद्, समिति र देशलाई जानकारी दिनुपर्ने बताउनुभएको हो । उहाँले भ्रमणमा देशलाई उचित हुनेभन्दा बाहेक अन्य कुनै पनि गतिविधि सरकारले गर्न नहुने बताउनु भयो । 

परराष्ट्र नीतिको विषयमा कुनै पनि किसिमको दबाब र धम्की स्वीकार्य नहुने अध्यक्ष नेपालकाे भनाइ छ । आफूले पहिलाे पटक नेपालमा विदेशी सेना रहेको सुनेको र विदेशी सेना नेपालमा आएर बस्नु गम्भीर विषय रहेको भन्दै उहाँले समितिमा सरकारको ध्यानाकर्षण गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालले कुनै पक्षमा नलाग्ने असंग्लन परराष्ट्र नीति लिएकाे छ । यो मामिलामा कुनै किसिमको दबाब, धम्की हामीलाई स्वीकार्य हुन सक्दैन । परराष्ट्र नीति कस्तो बनाउने र कसरी अगाडि लैजाने विषयमा देशप्रति माया गर्ने राष्ट्रिय शक्तिहरूको बीचमा नै छलफल गर्ने आवश्यकता पर्छ । प्रधानमन्त्रीकाे अमेरिका भम्रणको कुरा पनि आएकाे छ । भम्रणका विषयमा संसद्, समिति र देशले जानकारी पाउनुपर्छ । भ्रमणमा कुनै पनि अनुचित कामहरू हुनुहुँदैन ।’

अध्यक्ष नेपालले सरकारले लिने वैदेशिक ऋणका प्रावधानहरूमा धेरै त्रुटि रहेको भन्दै परिर्वतन गर्नुपर्ने बताउनुभयो । 

सोमबार ३० जेठ २०७९ ०४:२२ PM मा प्रकाशित

प्रतिक्रिया