काठमाडौं । सुमन सायमी नेपाली कम्युनिस्ट पार्टीमा मिल्ने भएका छन् । प्रतिनिधि सभा निर्वाचनको केही समयअघि उनी नेकपामा जान लागेका हुन् । सायमी यस पटक पनि काठमाडौं ८ बाटै उम्मेदवार बन्ने तयारीमा छन् ।
अघिल्लो निर्वाचनमा उनी दोस्रो भएका थिए । काठमाडौं ८ बाट रास्वपाका विराजभक्त श्रेष्ठले चुनाब जितेका थिए । २०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका सायमीले १३ हजार ७७० जना मत पाए । २०७९ को प्रतिनिधिसभा सदस्यमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठसँग पराजित भए । निर्वाचनमा उनले ६ हजार १७९ मत पाएका थिए ।
पछिल्लो समयमा सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा जोडिएका थिए । राष्ट्रिय मुक्ति पार्टीमा वरिष्ठ उपाध्यक्ष थिए । तर अब उनी नेकपामा जान लागेका छन् । ५२ वर्षीय सायमी काठमाडौं कालीमाटीका हुन् । अघिल्लो प्रतिनिधि सभामा सायमी हाम्रो नेपाली पार्टीबाट चुनाब लडेका थिए । उनको चुनाब चिन्ह लौरो थियो । लौरो चुनाब चिन्हबाटै काठमाडौंका मेयर बालेन शाहले चुनाब जितेका थिए ।
बालेनले लौरोबाट चुनाब जितेपछि त्यही चिन्ह राखेर हाम्रो नेपाली पार्टी गठन भएको थियो । सायमी र नेकपाबीच एकताको कार्यक्रम बुधबार राष्ट्रिय सभा गृहमा राखिएको बताइएको छ ।
प्रतिक्रिया