×

भाषण कम, काम धेरै गरेर देखाउँछु : प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो यो कार्यांकालमा भाषण कम र काम धेरै गर्ने बताएका छन् । शुक्रबार नेपाल हस्तकला महासंघको वार्षिक साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन् ।

आफ्नो कार्यकाललाई यो पटक ठूलो परीक्षाको रुपमा लिएको समेत प्रधानमन्त्री दाहालले बताए । ‘लोकतन्त्र घोषणा भयो तर जनताको जीवनस्तरमा परिवर्तन देखिएन,’ प्रधानमन्त्री दाहालले भने ‘आफ्नो कार्यकाललाई यो पटक ठूलो परिक्षाको रुपमा लिएको छु । भाषण कम गर्छु धेरै राम्रो काम गरेर देखाउँछु ।’

सरकारको कामहरु सुशासन र देशको हितका लागि केन्द्रित हुने भन्दै उनले यही कार्याकालमा नेपालको आर्थिक विकासको गति लिने, शुसानको जग बस्ने र राजनीतिक परिर्वतन अब आर्थिक विकासका परिणत हुने दाबी पनि प्रधानमन्त्री दाहालले गरे ।

प्रधानमन्त्री दाहालले हस्तकला निर्यात बढाउन सके विदेशी मुद्रा आर्जन गर्न सकिने पनि बताए । वाणिज्य मन्त्रालय र हस्तकला महासंघ बीचमा सहकार्य गरेर देशले राम्रो फाइदा लिन सिक्ने पनि प्रधानमन्त्री दाहालको भनाइ छ ।

अर्थतन्त्रको संकट समाधान गर्न सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै केही निर्णय गरेको भन्दै उनले निजी क्षेत्रलाई विश्वारसमा लिएर मात्रै मुलुकले आर्थिक विकास गर्न सकिने पनि उनले बताए । नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।


‘‘हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र छ । यो असीमित सम्भावना भएको क्षेत्र हो’’ प्रधानमन्त्रीले भने,‘ ‘‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने एकातिर व्यापार घाटा कम गर्न सकिन्छ । अर्कोतिर नेपाली मौलिकतालाई विश्वभरि प्रचार र बिस्तार गर्न सकिन्छ । यसैले सरकार हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्न प्रतिवद्ध छ ।’’

प्रधानमन्त्रीले निजी क्षेत्रसँगको साझेदारीमा हस्तकला उद्योग प्रवद्र्धन गर्नुपर्ने बताए । उनले भने,‘निजी क्षेत्रलाई विश्वासमा नलिइकन, निजी क्षेत्रसँगको साझेदारीबिना समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन। मैले क्याबिनेटको पहिलो बैठकबाट नै आर्थिक विकास र समृद्धिका लागि केही कदम चालेको छु। सरकारका सचिवहरूलाई दिएको निर्देशन र संसदको सम्वोधनमा पनि त्यो कुरा प्रष्ट राखेको छु।’’

‘‘यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा छु। यसपटक जति काम गर्छु, राम्रो मात्र गर्छु’’ प्रधानमन्त्री प्रचण्डले भने,‘म तेस्रोपटक प्रधानमन्त्री भएको छु। यो मेरा लागि परीक्षा पनि हो। म परीक्षामा उत्तीर्ण हुन्छु, हुनैपर्छ।’’

‘‘निर्वाचनले हामीलाई मिलेर जाने जनमत दिएको छ। कसैलाई पनि अहंकार गर्ने अभिमत जनताले दिएका छैनन्। हामी इमान्दार भएर जनताको पक्षमा राम्रो काम गरेनौँ भने यो परीक्षामा चुक्छौँ’’ उनले भने ।

हस्तकला व्यवसाय प्रवद्र्धनका निम्ति पाठ्यक्रममा नै केही विषय राख्नु राम्रो हुने प्रधानमन्त्रीले बताए। उनले भने,‘हस्तकला उद्योगमा पुस्तान्तरणको समस्या छ भन्ने मलाई थाहा छ। यसलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने पहल हामीले लिनुपर्छ। यसकारण पाठ्यक्रममा नै हस्तकला उद्योगको कुरा राख्ने माग सकारात्मक छ, म पहल गर्छु।’’

साधारण सभामा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकलाको क्षेत्रलाई प्रवद्र्धन गर्न सक्दा नेपाली मौलिकताका वस्तुहरू निर्यात गर्न सकिनेमा जोड दिँदै हस्तकलाको क्षेत्र सरकारको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए।

शुक्रबार​ २९ पुस २०७९ ०४:५२ PM मा प्रकाशित

प्रतिक्रिया