×

मनाङको तापक्रम माइनस १६, स्थानीय बेँसी झर्न थाले

images


मनाङ, २६ मङ्सिर : जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । 

    प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामे आसपासका क्षेत्रमा माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । तापक्रम मापन गर्दा अत्यन्त कम देखाउँदै गएको उहाँले बताउनुभयो । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उहाँले बताउनुभयो । 

    प्रजिअ लामिछानेले भन्नुभयो, “चिसोले धारामा पानी जमेको छ भने खोलानालामा पनि पानी जम्दै गएको छ । बाटोमा हिउँ छ । सवारीसाधनको आवतजावत न्यून मात्रामा छ । पिउने पानी जोहो गर्नै मुस्किल हुन थालेको छ ।” चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माणका काम ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिनुभयो । 

    चामे गाउँपालिकाले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले चिसोका कारण सिमेन्टसँग सम्बन्धित निर्माण कार्यमा समस्या हुने भएकाले काम बन्द गर्न भनिएको बताउनुभयो । 

    पूर्वाधार कार्यालय मनाङका प्रमुख जय विष्टले भन्नुभयो, “चिसो अत्यधिक छ । त्यसैले सिमेन्टजडित कार्य ठप्प भएको छ । योजनाको नापजाँच, परीक्षणको काम गरिरहेका छौँ ।” 

    पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्लाबाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौँ, पोखरातर्फ झर्ने क्रम जारी रहेको छ । 

    चिसोका कारण स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका–३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ । 

मङ्गलबार २६ मंसिर २०८० ०१:२६ PM मा प्रकाशित

प्रतिक्रिया