×

ठूला दलका अजेन्डा उस्तैउस्तै

images

ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि यसपटक नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी (नेकपा एस) का कृष्णलाल महर्जन र नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २३ जना उम्मेदवार छन्।

सत्ता गठबन्धनका उम्मेदवार कृष्णलाल निवर्तमान सांसद हुन्। उनी पटकपटक संसदीय अभ्यासमा सहभागी भएका अनुहार हुन्। एमालेका उम्मेदवार प्रेमबहादुर संसदीय निर्वाचन प्रतिस्पर्धामा नयाँ अनुहार हुन्। महर्जनद्वयका चुनावी अजेन्डा भने उस्तैउस्तै छन्। ललितपुर २ अन्तर्गत पर्ने पाटन क्षेत्रलाई दुवै उम्मेदवारले सांस्कृतिक सहर बनाउने लक्ष्य राखेका छन्। विकासका पूर्वाधार निर्माणमा पनि दुवै उम्मेदवारको समान धारणा छ। ललितपुर २ मा पर्ने पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने विषयमा पनि दुवैजनाको समान धारणा छ। दुवैले आफूले जित्ने दाबी गरेका छन्।

सत्ता गठबन्धनका उम्मेदवार कृष्णलाल यसअघि आफू सांसदमा निर्वाचित भए पनि पार्टीभित्रकै असहयोगका कारण चाहेअनुसार काम गर्न नपाएको र आफ्नो पहलमा सुरु भएका कामलाई पूरा गर्न फेरि पनि उम्मेदवार भएको बताउँछन्। उनी यसअघि एमालेबाट निर्वाचित भएका हुन्।

उनले धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै ललितपुरलाई पर्यटनको केन्द्रबिन्दु बनाउने बताए। पाटन क्षेत्रलाई सांस्कृतिक सहरका रूपमा विकास गर्नु आफ्नो पहिलो प्राथमिकता रहेकाले यसपटक पनि जनताको अभिमत पाउनेमा उनी विश्वस्त देखिन्छन्। ललितपुर २ मा बाटो, खानेपानी, बेरोजगारी, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उनले बताए। उनी यसपटक जनताले गलत प्रवृत्तिका विरुद्ध अभिमत दिने विश्वास गर्छन्।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मेदवार प्रेमबहादुरको पनि चुनावी अजेन्डा पाटन र मंगल बजारलाई सांस्कृतिक सहर बनाउने छ। ललितपुर २ मा शिक्षा, रोजगारी, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा गर्नुपर्ने धेरै काम रहेको र आफू निर्वाचित भएपछि ती काम अघि बढाउने बताउँछन्। त्यस्तै उनले वातावरण संरक्षण तथा नदी किनारमा करिडोर बनाउन पहल गर्ने बताएको आजको नागरिक दैनिकमा खवर छ ।

शनिबार २६ कात्तिक २०७९ ०९:०० AM मा प्रकाशित

प्रतिक्रिया