जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाउनुभएको छ । अध्यक्ष भट्टराईले पार्टीमा ठूलो बन्नका यादवले लागि एकलौटी र स्वेच्छाचारी ढङ्गबाट पार्टीका गतिविधिहरू गरेको आरोप लगाउनुभएको हो ।
आज मङ्गलवार काठमाण्डाैमा आयोजित केन्द्रीय कार्यसमितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्ख्यात्मक रूपमा पनि आफ्नो पक्षमा नै बहुमत रहको दाबीसमेत गर्नुभयो । अध्यक्ष भट्टराईले अर्का अध्यक्ष यादव पक्षले बैठक अवैध भनेकोप्रति लक्षित गर्दै यादव पक्षले इतिहासलाई भुलेर गरेको कुराको कुनै सत्यता नरहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टीमा सङ्ख्याको बहुमत हामीसँग छ । सङ्घीयता, सुशासन, समाजवाद र समृद्धिको मूल आधार तत्त्वलाई बचाएर पार्टीलाई जोगाएर ल्याउने श्रेय पनि हामीलाई छ । हामी यहाँ छाैँ । त्यसैले यो बैठकलाई अवैध भन्छन् भने तिनले जस्तो इतिहासलाई बङ्ग्याउने काम, झुट बोल्ने काम कसैले पनि गरेको छैन । पार्टीमाथि ठूलो सङ्कटको बादल मडारिएको छ । त्यसैको समाधान गर्न विस्तारित बैठक बोलाएका छौँ । कुनै पनि बाआमाले आफ्नो सन्तानलाई मार्दैन । त्यसैले यो पार्टी हामीले जन्माएको हो, फुटबाट जोगाएको हो र अहिले पनि पार्टीलाई रूपान्तरण गर्ने हाम्रो मनसाय हो । म मेरा मित्र उपेन्द्र यादवजीलाई अहिले पनि नतर्सिन, नडराउन, हिम्मतका साथ सामना गर्न, वैधानिक ढङ्गले बैठक राख्न चुनौती दिन्छु ।’
अध्यक्ष भट्टराईले तत्कालीन कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर अलिग्गएपछि खाली रहेको पदमा समेत जनजातिलाई राख्ने आफ्नो प्रस्तावलाई अध्यक्ष यादवले नमानेको बताउनुभयो । उहाँले पार्टी दर्ता गराउँदा देखेको आफ्नो सपनामा कुठाराघात भइरहेको बताउनुभयो ।
प्रतिक्रिया