×

गाँजा बेचेर वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिन्छः एमाले सांसद तामाङ

images

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने दाबी गरेका छन् । 

उनले एचआईभी एड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि पनि गाँजा भएको दाबी गरे । आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै तामाङले नेपालको स्वास्थ्य क्षेत्र र ऋण तिर्नका लागि उत्पादन र बिक्री वितरण खुला गर्नुपर्ने माग गरे । 

नेपालमा गाँजाबाट बनेको औषधि नपाएर एड्स लागेका व्यक्तिहरू आमरण अनशन बस्न लागेको भन्दै तामाङले गाँजाबाट बन्ने सीभीडी, सीभीडीबाट बन्ने औषधिबाट प्राणघातक रोगहरूको उपचार गर्न सक्ने जिकीर गरे । तत्कालका लागि गाँजालाई औषधिका रूपमा प्रयोग गर्न दिनुपर्ने माग गर्दै तामाङले त्यसपछि औद्योगिक प्रयोजनका लागि बहस गरिनुपर्ने बताए । 

२ सय लिटरका ४ ड्रम सीभीडी निकाल्ने हो भने मुलुकको सम्पूर्ण पूर्वाधार त्यसैलाई बेचेर बनाउन सकिने भन्दै उहाँले देशलाई लागेको ऋण पनि एकदुई वर्षमै तिर्न सक्ने बताए । तामाङले गाँजालाई वैधानिक बनाउनुपर्ने भन्दै संसद् सचिवालयमा गैरसरकारी विधेयक पनि दर्ता गराएका छन् ।
 

आइतबार​ २९ जेठ २०७९ ०३:२८ PM मा प्रकाशित

प्रतिक्रिया