काठमाडौं । रास्वपा संसद सोविता गौतमले भिजिट भिसा प्रकरणमा आफूहरूले उठाएका विषयलाई निष्कर्षमा नपुर्याई नछाड्ने स्पष्ट पारेकी छन्।
बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले भिजिट भिसा प्रकरण देशकै लागि निकै गम्भीर रहेकाले आफूहरूले उठाएका विषयलाई निष्कर्षमा नपुर्याई नछाड्ने स्पष्ट पारेकी हुन्।
उनले यसमा राष्ट्रिय सहमति खोज्नका लागि नै रास्वपाले पाँच बुँदे ड्राफ्ट तयार पारेर छलफलमा लगे पनि सत्तारुढ दल नमानेको धारणा राखिन्। माओवादीले ल्याएको ड्राफ्ट आफूहरूको सरोकारको विषय नभएको भन्दै उनले आफूहरू पाँच बुदे ड्राफ्टमा अडिग रहेको बताइन्।
उनले रास्वपाले सदन अवरुद्ध गरेको नभई जनताको मुद्दा समाधान गर्नका लागि बाटो खोजिरहेको तर्क गरिन्।
‘रास्वपाले सदन अवरुद्ध गरेको होइन । रास्वपाले जनताको मुद्दा समाधान गर्न बाटो खोजौं भनिरहेको हो । सहमति गरौं,’ उनले भनिन्, ‘यो मुद्दाको हकमा राष्ट्रिय सहमति गरौं, समाधानतर्फ जानुपर्छ ।’
यस्तो अवस्थामा सदन सहजै चलाएर भिजिट भिसा प्रकरणलाई छाड्ने हो भने मुद्दाको कुनै अर्थ नहुने उनले बताइन् ।
‘सदन सुचारु रुपले चलाउन यो मुद्दालाई छाड्ने हो भने हामी यहाँ हुनुको केही अर्थ भएन । स्वयं बेचिएका मान्छेलाई हामी बेचिएका छौं,’ उनले भनिन्, ‘तपाईंहरूले यो मुद्दा नछाड्नु है भनिरहनुभएको छ । यो विषयलाई यतिकै छाड्ने कुरा भएन ।’
रास्वपाले संसद् अवरोध गर्यो भनेर गलत सन्देश बाहिर गइरहेको उनको भनाइ थियो ।
‘खासमा मुल मुद्दामा दलहरू एक ठाउँमा आउनुपर्यो भनेका हौं । सदन हामीले चलाउन दियौं भने मुद्दा त छाडियो नि । हाम्रो एउटा मात्रै कुरा के हो भने सदन चलाऔं केही भएन,’ सांसद गौतमले भनिन्, ‘राष्ट्रिय मुद्दा एक ठाउँमा आइएन भने त कसरी सदन चलाउने गर्न सक्छौं ? मुद्दा त छाडिन्छ नि । यो जनताको मुद्दालाई समाधान गर्नका लागि आधार बनाऔं भनेको हो ।’
उनले रास्वपाले नभइ वर्तमान सरकारले नै अहिले सदन अवरोध गरिरहेको बताइन् ।
प्रतिक्रिया