×

एक तिहाइ विकासे अड्डामा इन्जिनियर अभाव

images

काठमाडौं । विकाससँग सम्बन्धित सरकारी अड्डा तथा निकायहरूमा एक तिहाइभन्दा बढी इन्जिनियरको अभाव भएको छ। जसले गर्दा विकासे योजनाहरू कार्यान्वयनमा कठिनाइ उत्पन्न भएको छ। इन्जिनियर अभावले विकासका काम गर्न निकै कठिनाइ भएको सम्बन्धित कार्यालयका उच्च कर्मचारीहरू बताउँछन्।

सहरी विकास मन्त्रालयका सहसचिव तथा नयाँ सहर आयोजनाका आयोजना प्रमुख एकराज अधिकारीले सहरी विकास मन्त्रालयसँग सम्बन्धित कार्यालय तथा योजनाहरूमा कम्तीमा एक तिहाइ इन्जिनियर ९शाखा अधिकृतसरह० तथा सब इन्जिनियर अभाव रहेको बताउँछन्।

यसैगरी सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले विभाग र मातहतका देशभरिका कार्यालयमा २३० जना सब इन्जिनियर तथा २५ जना इन्जिनियर अभाव भएको बताए। ‘विभागमातहतमा देशभरि इन्जिनियरहरूको कुल दरबन्दी ६७३ छ तर २३० सब इन्जिनियरको अभाव छ,’ उनले भने, ‘यो भनेको करिब एक तिहाइ सब इन्जिनियर अपुगको अवस्था हो। ठुलो संख्यामा सब इन्जिनिययर अभाव हुँदा विकास निर्माणसँग सम्बन्धित काम गर्न एकदमै कठिनाइ भएको उनको भनाइ छ।

लोकसेवा आयोगले भर्ना प्रक्रिया सुरु गरेका प्राविधिक कर्मचारीहरू अझै विकासे अड्डामा पुगेका छैनन्। जसले गर्दा कर्मचारीको अभाव भएको बताइएको छ। सडक विभागका प्रवक्ता रामहरि पोखरेलले एकै पटक ठुलो संख्यामा प्राविधिक कर्मचारी अभाव भएको बताए।

आयोगले समयमै प्राविधिक कर्मचारीहरू सिफारिस गर्न नसकेकाले देशभरि इन्जिनियरहरूको अभाव भएको सहरी विकासका सहसचिव अधिकारीको भनाइ छ। ‘केही इन्जिनियर बढुवा भएर सिडिई ९सिनियर डिभिजन इन्जिनियर० भएका छन्। खाली दरबन्दीमा आयोगले कर्मचारी पठाएको छैन,’ उनले भने, ‘देश संघीयतामा गएपछि केन्द्रको दरबन्दी घटाइयो। तर काम भने सबै केन्द्रमै थोपरियो। यसबाट पनि इन्जिनियरहरूको अभाव भएको हो।’ सहरी विकास तथा भवन निर्माण विभागका अनुसार उक्त विभागमा सब इन्जिनियरहरूको दरबन्दी ६६ भए पनि २४ जना अपुग छन्। अहिले विभागमा ४२ जना मात्र सब इन्जिनियर छन्। यसैगरी १८५ इन्जिनियरहरूमध्ये ४१ जनाको अभाव छ। यो समाचार नागरिक दैनिकमा छ ।

शुक्रबार​ २६ फागुन २०७९ ०८:०४ AM मा प्रकाशित

प्रतिक्रिया