×

सरकारलाई रचनात्मक सहयोग गर्छौं : देउवा

images

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेका छन् ।  सभापति  देउवाले आफ्नो दल संसद्मा प्रमुख प्रतिपक्षको भूमिका रहने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत मागेपछि दलीय आधारमा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

उनले सरकारलाई आफ्नो दलले रचनात्मक रुपमा सहयोग गर्ने बताए । नेपालको राजनीति सहमति, सहकार्य र एकताबाट अघि बढिरहेको स्मरण गराउँदै आगामी दिनमा पनि यो संस्कारलाई अघि बढाउने सुनाए ।

उनले अहिले पनि देशकासामू निकै चूनौति रहेको औंल्याए । उनले सरकारले अब संविधानको पूर्ण पालना गरेर काम गर्नुपर्ने सुझाव दिए । विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले संसद विघटन गर्न सकिने एमाले अध्यक्षको अभिव्यक्तिमा आफ्नो ध्यानाकर्षण भएको बताए ।

 हिजो ओलीले संसद विघटन गर्दा वर्तमान प्रधानमन्त्रीसहित आफूहरु एक ठाउँमा उभिएको र सर्वोच्च अदालतले पनि संसद पुनस्र्थापना गरेको भन्दै देउवाले भने, ‘आज फेरि वर्तमान सत्ता गठबन्धनको प्रमुख घटकले तीनै संवैधानिक व्यवस्थालाई चुनौती दिएको अवस्थामा संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती हाम्रासामू आएको छ । वर्तमान प्रधानमन्त्रीका लागि यो पनि परीक्षाको घडी हो ।’

संविधानको रक्षाका लागि उभिने विश्वासका साथ प्रधानमन्त्रीका लागि विश्वासको मत दिने उनले बताए । यद्यपि आफ्नो दल प्रतिपक्षमा बस्ने र सरकारको गुण र दोषका अधारमा विरोध वा समर्थन समेत गर्ने देउवाले बताए ।

मङ्गलबार २६ पुस २०७९ ०२:४६ PM मा प्रकाशित

प्रतिक्रिया