काठमाडौँ । चीनले एससीओ शिखर सम्मेलनको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावित भ्रमणको स्वागत गरेको छ र भारतीय प्रधानमन्त्रीलाई आफ्नो भूमिमा स्वागत गर्न उत्सुक रहेको बताएको छ । यसैबीच, केही पश्चिमी मिडिया संगठनहरूले मोदीको भ्रमणलाई अमेरिकाविरुद्ध बचाउ गर्ने प्रयासको रूपमा प्रस्तुत गरेका छन् ।
चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले पश्चिमी मिडियाको यो दृष्टिकोणलाई एकतर्फी भनेको छ । यसले स्वतन्त्र व्यापारको रक्षा गर्नु र एकतर्फी करको विरोध गर्नु आज विश्वका अधिकांश देशहरूको साझा चाहना भएको बताएको छ । यदि प्रधानमन्त्री मोदीले चीनको भ्रमण गरेमा यसले दुई देशबीचको सम्बन्धमा सकारात्मक गतिलाई मात्र बलियो बनाउने छैन, तर सम्पूर्ण विश्वलाई नयाँ दिशा पनि दिने ग्लोबल टाइम्सले लेखेको छ । प्रधानमन्त्री मोदीको चीनको सम्भावित भ्रमण त्यस्तो समयमा हुन लागेको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्ध कर युद्ध सुरु गरेका छन् । प्रधानमन्त्री मोदी यस महिनाको अन्त्यमा सांघाई सहयोग संगठन (एससीओ ) को बैठकमा भाग लिन चीनको भ्रमण गर्नेछन् । यो समाचारले पनि विश्वको ध्यान खिचेको छ । यद्यपि, यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।
२०२० मा गलवान द्वन्द्व पछि भारत र चीनको सम्बन्ध बिग्रिएको थियो । दुई देशबीच पारस्परिक अविश्वास बढेको थियो । तर चार वर्षपछि, २०२४ मा कजानमा प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटपछि, दुई देशबीचको सम्बन्धमा रहेको अविश्वास कम भएको छ । हालै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहले एकपछि अर्को गर्दै चीनको भ्रमण गरेका छन् । अब सात वर्षपछि प्रधानमन्त्री मोदी चीनको भ्रमणमा जाँदैछन् । चीनले ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म तियानजिनमा एससीओ शिखर सम्मेलन आयोजना गर्दैछ ।
यस्तो अनुकूल वातावरणमा, ट्रम्पको एकतर्फी ट्यारिफ नीतिले चीनलाई भारतसँग सम्बन्ध छिटो सुधार गर्ने राम्रो अवसर दिएको छ । चीन भारत दुवै आफ्नी व्यापारिक हितकालागि सम्बन्ध सुधार गर्न प्रयासरत छन् । ग्लोबल टाइम्सले प्रधानमन्त्री मोदीको सम्भावित चीन भ्रमणको स्वागत गर्दै भारत र चीनबीचको राम्रो सम्बन्धले दुवै देशलाई मात्र फाइदा पुर्याउने छैन, तर यो सम्पूर्ण विश्वको लागि राम्रो परिणाम साबित हुने उल्लेख गरको छ । दुवै देशको एकताले विश्वलाई नयाँ दिशा दिने दाबि गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने- 'हामीलाई विश्वास छ, सबै पक्षहरूको संयुक्त प्रयासले, तियानजिन शिखर सम्मेलन एकता, मित्रता र फलदायी नतिजाहरूको संगम हुनेछ, र एससीओले ठूलो समन्वयका साथ विकासको नयाँ चरणमा प्रवेश गर्नेछ ।'
प्रतिक्रिया