×

बालेन र केपी ओलीको नाम जोडेर भाषण गरेपछि डीएसपी चौधरीमाथि प्रहरीको 'एक्सन'

images

कञ्चनपुर, असार २५ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम लिएर विवादास्पद अभिव्यक्ति दिएका कैलालीको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई जिल्ला झिकाइएको छ।

डीएसपी चौधरीले सार्वजनिक कार्यक्रममा ‘हामी बालेनको पुलिस होइनौँ...’ भन्दै दिएको अभिव्यक्तिको भिडिओ सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भाइरल भएपछि उनलाई सामान्य सोधपुछ र काउन्सिलिङका लागि भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा तानिएको हो।

के भनेका थिए डीएसपी चौधरीले?

कैलालीमा आयोजित लागुऔषधसम्बन्धी एक सचेतनामूलक कार्यक्रममा विद्यार्थीहरूलाई सम्बोधन गर्दै डीएसपी चौधरीले प्रहरी संगठन कुनै राजनीतिक वा व्यक्तिगत प्रभावमा नचल्ने दाबी गरेका थिए। त्यसक्रममा उनले भनेका थिए, “हामी बालेनको पुलिस पनि होइनौँ, नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो।”

उनले राजनीतिक नेतृत्वलाई समेत जोड्दै अगाडि थपेका थिए, “केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो। त्यसकारण हामी नेपाल पुलिस हो।” कार्यक्रममा उनले आफ्नो भनाइ मन परे ताली बजाउन आग्रह गरेपछि हलमा उपस्थित विद्यार्थीहरूले चर्को ताली बजाएका थिए।

भाइरल भिडिओमा उनले नेपाल प्रहरीले लगाउने बर्दी देशको राष्ट्रपतिले समेत लगाउन नपाउने भन्दै आफूहरू कडा प्रतिस्पर्धाबाट आएको उल्लेख गरेका छन्। उनले भनेका छन्, “हामी भोट हालेर, टीका लगाएर आएका होइनौँ। दारु-भात खाएर आएकै होइन। म आफैँ २०७० सालमा १३८ जनाको प्रतिस्पर्धाबाट छनोट भएर आएको व्यक्ति हुँ।”

उनले भाषणका क्रममा आफूले बोलेको कुराको भिडिओ बाहिर सार्वजनिक नगर्न समेत अनुरोध गरेको आवाज सुनिन्छ, तर उक्त भिडिओ टिकटक लगायतका सामाजिक सञ्जालमा भाइरल भइसकेको छ।

यस घटनाबारे जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले इलाका प्रहरी कार्यालय सुखडका डीएसपी चौधरीलाई जिल्ला बोलाइएको पुष्टि गरेका छन्।  ईसन्चार सँग कुरा गर्दै डीएसपी तिमिल्सिनाले भने, “माथिल्लो तहका सरहरूले पेसागत आचरणअनुसार काम गर्न 'काउन्सिल' गर्ने उद्देश्यले उहाँलाई बोलाउनुभएको हो। यो हाम्रो आन्तरिक सामान्य विषय हो, जुन नियमित चलिरहन्छ।” प्रहरी संगठनको आचारसंहिता र पेसागत मर्यादा विपरित सार्वजनिक रूपमा विशिष्ट व्यक्तिहरूको नाम जोडेर अभिव्यक्ति दिएका कारण उनलाई तत्कालका लागि इलाकाको जिम्मेवारीबाट सजग गराउन जिल्ला तानिएको बुझिएको छ।

बिहीबार २५ असार २०८३ १०:४० AM मा प्रकाशित

प्रतिक्रिया