अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन नेपाल आइपुग्नुभएको छ । चार दिने औपचारिक भ्रमणका लागि आज बिहीवार नेपाल आइपुग्नुभएका फ्लिनलाई त्रिभुवन विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गर्नुभयो ।
प्लिनकाे भ्रमण सद्भावना र मैत्रीपूर्ण रहेको नेपाली सेनाले जनाएको छ । तर असारमा हुने प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको सम्भावित अमेरिका भ्रमणअघि अमेरिकी सैनिक जनरलको नेपाल भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।
जनरल फ्लिनले भोलि शुक्रवार सैनिक मुख्यालय जङ्गी अड्डा भ्रमण गर्ने र प्रधानसेनापति शर्मासँग भेटवार्ताको तालिका रहेको छ । उहाँ पर्सि शनिवार माउन्टेन फ्लाइट र सगरमाथा आधार शिविर पनि जानुहुनेछ । यस्तै उहाँ आइतवार पाँचखालको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा जानुहुनेछ ।
भ्रमणका क्रममा फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत उच्च पदस्थ व्यक्तिसँग भेटवार्ताको कार्यक्रम पनि रहेको छ ।
प्रतिक्रिया