राजविराज (सप्तरी), २७ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले आज विहान यहाँस्थित प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा दर्शन तथा पूजा अर्चना गर्नुभएको छ । छिन्नमस्ता गाउँपालिका–३ मा रहेको धार्मिक एवम पर्यटकीय क्षेत्र छिन्नमस्ता भगवती मन्दिरमा राष्ट्रपति पौडेलले बिशेष पूजा गर्नुका साथै टीका, फूल तथा प्रसाद ग्रहण गर्नुभयो ।
राष्ट्रपति पौडेललाई मन्दिर परिसरमा सांसद, स्थानीय सुरक्षा अधिकारी, गाउँपालिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गर्नुभएको थियोे । सो अवसरमा गाउँपालिका अध्यक्ष विधानन्नद चौधरीले राष्ट्रपति पौडेललाई मायाको चिनो प्रदान गर्नुभयो ।
मन्दिर दर्शनपछि आयोजित समारोहमा राष्ट्रपति पौडेलले छिन्नमस्ता तराई–मधेसको प्राचीन र ऐतिहासिक शक्तिपीठ भएको बताउँदै यस्तो पवित्र भूमिमा राष्ट्रको अभिभावकीय रूपमा आउन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले कोशी–कमला डाइभर्सनको काम सम्पन्न गरेर यो क्षेत्रमा कृषि क्रान्ति गर्न जÞरूरी रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सप्तरी मेरो मुटुमा छ । यो जिल्लाको हरेक कुरामा म साथमा छु ।”
छिन्नमस्ता मन्दिरलाई विश्वका विभिन्न शक्तिपीठमध्ये ५२औँ शक्तिपीठका रुपमा लिइन्छ । सरकारले २०६५ सालमा नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवका उपस्थितिमा जगतगुरु बालसन्तले छिन्नमस्तालाई शक्तिपीठका रुपमा घोषणा गरेको पीठाधीश महाकान्त ठाकुरले जानकारी दिनुभयो ।
पीठाधीश ठाकुरका अनुसार करिब एक हजार वर्ष अगाडि राजा शक्रसिंहले जङ्लमा सिकार खेल्ने क्रममा पोखरे गुफाबाट छिन्नमस्तादेवीको मूर्ति फेला पारेपछि सामान्य मन्दिरका रुपमा स्थापना गर्नुभएको थियो । त्यसपछि २०३९ सालमा भारतका तत्कालीन रेलमन्त्री ललितनारायण मिश्रले हवाईजहाज दुर्घटनाबाट जोगिएको खुसीयालीमा भगवतीको पक्की मन्दिर अझ ठूलो आकारमा बनाएका थिए ।
कूल १४ बिघा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा पोखरी र विभिन्न देवीदेवताका मन्दिरसमेत निर्माण गरिएको छ । मन्दिरमा दर्शन गरेपछि भाकल पूरा हुने जनविश्वास छ । यहाँ मासिक रुपमा नेपाल र भारतका हजारौँ भक्तजन दर्शन र पूजापाठ गर्नका लागि आउने गरेका छन् । यहाँ दैनिक खसी बोका र परेवाको बलि दिने प्रचलन छ । दसैँमा भने भव्य मेला लाग्ने गर्दछ ।
प्रतिक्रिया