×

सरकारद्वारा २० देशमा राजदूत नियुक्त

images

काठमाडौं । सरकारले निर्वाचन आचारसंहिता लागू हुने पूर्व सन्ध्यामा व्यापक राजनीतिक नियुक्तिहरू गरेको छ । बिहीवार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । 

सिफारिस भएका मध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् भने बाँकी १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस गरिएको छ । राजदूत नियुक्तिको सिफारिसमा एकीकृत समाजवादीको कोटाबाट पार्टीका अध्यक्ष माधवकुमार नेपालका बहिनी ज्वाइँ कैलाश पोखरेलदेखि ओली सरकारको नियुक्तिका कारण फिर्ता भएकी शर्मीला पराजुली ढकालसमेत छन् ।

पोखरेल अस्ट्रेलिया र पराजुली स्पेनका लागि सिफारिस भएका छन् । श्रीलङ्काको राजदूतका लागि सिफारिस भएका वासुदेव मिश्र ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी नेता पम्फा भुसालकी बहिनी ज्वाइँ हुन्। चीनको राजदूतमा माओवादी कोटाबाट विष्णु पुकार श्रेष्ठ सिफारिसमा परेका छन्। जसपाको कोटाबाट पूर्व सांसद नवराज सुवेदीले राजदूतको सिफारिसमा परेका छन् ।

यसअघि श्रीलङ्काको राजदूतबाट राजीनामा दिएका विश्वम्भर प्याकुरेलकी पत्नी ज्योति प्याकुरेललाई दक्षिण कोरियाको राजदूतमा सिफारिस गरिएको छ। दक्षिण अफ्रिकामा दानबहादुर तामाङ र इजरायलमा शान्ता रिजालको नाम सिफारिस तथा जसपाका रामसुरज राय डेनमार्कका लागि सिफारिस भएका छन् ।

रसियाको राजदूतका लागि मिलन तुलाधर, श्रीलङ्कामा वासुदेव मिश्र र मलेसियाको राजदूतमा डिल्लीराज पौडेल सिफारिस भएका छन् । परराष्ट्र सेवाबाट सहसचिव दुर्गाबहादुर सुवेदी, घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, भरतकुमार रेग्मी र निर्मलराज काफ्ले सिफारिस भएका छन् ।

शुक्रबार​ २५ चैत २०७८ ०१:३५ PM मा प्रकाशित

प्रतिक्रिया