काठमाडौं– छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइँदै छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्य ब्रह्माका मानसपुत्री छठी (षष्ठी)को उपासना गरी मनाइन्छ।
कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ। दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरुप खाने नुन नखाई एक छाक फलाहार गरिन्छ।
यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको छ। षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ।
कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ। २०४६ साल अगाडिसम्म तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ।
२०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिन सुरु गरेको थियो। छठ पर्वका लागि काठमाडौंको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र गहनापोखरी नागरपोखरी कमलपोखरीलगायत बागमती नख्खु विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ।
भूकम्प पछिका वर्षझैं यस वर्ष पनि रानीपोखरीमा भने छठीघाट बनाइएको छैन। न्चेल्ल २ छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन्। केही व्रतालु भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कात्तिक कृष्ण प्रतिपदादेखि नै लसुन प्याजलगायत तामसी खानेकुरा नखाइ चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन्।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो।
त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो। सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्।
फलस्वरूप उनले अटल सौभाग्य पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ।
छठको मुख्य दिन आज काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लाहरुमा छठको रौनक छ । छठको अवसरमा काठमाडौंका आठ स्थानमा छठघाट निर्माण गरिएको छ ।
काठमाडौं महानगरपालिकाका अनुसार वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको हो । यी स्थानमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध लगायतको व्यवस्था मिलाइएको छ ।
जनकपुरधामका धार्मिक एवं ऐतिहासिक सरोवरहरु गंगासागर, अंगराज सागर, धनुष सागर, दशरथ तलाउ, गोरधोइ पोखरी लगायतको किनारमा श्रद्धालुहरू बिहानैदेखि पूजा सामग्री लिएर जम्मा हुन थालेका छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन जनकपुरका सरोवरहरू सिङ्गारिएका छन् ।
प्रतिक्रिया