काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना नेता, विचार र प्रणालीलाई नयाँ स्वरूपमा ढालेर मात्र नयाँ युगको आवश्यकता सम्बोधन गर्ने पार्टी बन्न नसक्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले देशमा पुनः एकपटक राजनीतिक दलहरूबिच विघटन, पुनर्गठन, विनिर्माण र निर्माणको नयाँ चक्र चल्न थालेको बताए। उनले यसलाई प्रकृति, समाज र राजनीतिक विचारको उद्विकासको एक आधारभूत र अनिवार्य नियमको रूपमा व्याख्या गरेका छन्।
"खालि पुरानै नेता, विचार र प्रणालीका विभिन्न चिराहरू घोलमेल गरेर र नयाँ रंगरोगन गरेर मात्र नयाँ युगको आवश्यकता पूर्ति गर्ने नयाँ पार्टी बन्दैन," डा. भट्टराईले लेखेका छन्, "साँचो अर्थमा अग्रगामी र वैकल्पिक पार्टी बनाउने हो भने देश र काल सापेक्ष नयाँ विचार, नीति, कार्यक्रम र नेतृत्वको पूर्ण प्याकेजसहितको नयाँ संगठन आवश्यक पर्छ।"
डा. भट्टराईले विचार र सिद्धान्तविनाको पार्टीलाई 'दिशाबोधक यन्त्र (कम्पास) विनाको गाडी वा जहाज' को संज्ञा दिएका छन्। वित्तीय भूमण्डलीकृत विश्व परिवेश तथा आन्तरिक जडता र बाह्य परनिर्भरताको दुष्चक्रबाट गुज्रिरहेको बहुवर्गीय र बहुजातीय नेपाली समाजमा दलहरू पुराना वैचारिक जडताबाट माथि उठ्न नसक्नु नै मुख्य समस्या भएको उनको ठहर छ।
समयानुकूल विचारको विकास गर्न नसक्नु अहिलेको राजनीतिको सबैभन्दा ठूलो विडम्बना भएको भन्दै उनले नयाँ पुस्ता र नयाँ युगको आकांक्षा सम्बोधन गर्न समसामयिक वैचारिक स्पष्टतासहित अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया