×

माओवादीबाट मन्त्री बनेकालाई एक हप्ताभित्र प्रगति विवरण बुझाउन प्रचण्डकाे निर्देशन

images


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई एक हप्ताभित्र प्रगति विवरण बुझाउन निर्देशन दिनुभएको छ ।

प्रचण्डले काठमाण्डौमा चलिरहेको केन्द्रीय समिति बैठकमा माओवादीबाट मन्त्री बनेकाहरुले धेरै राम्रा काम गरिरहेको जिकिर गर्दै प्रगति विवरण बुझाउन भन्नुभएको हो। साथै उहाँले त्यस्ता काम नागरिकलाई बुझाउनुपर्ने बताउनु भएको छ । 

‘हाम्रो तर्फबाट जानुभएको मन्त्रीहरूले राम्रो पनि गर्नुभएको छ । ती कुराहरू जनतामा पुर्याउन सक्नुभएको छैन । अब तपाईँहरू सबैले आफ्नो मन्त्रालयमा गरेका राम्रो कामका विवरणहरु हेडक्वाटरमा बुझाउनुस् । आउँदो चुनावमा नागरिकमाझ लगेर स्थापित गरिने छ ।’ प्रचण्डले भन्नुभयो ।

नागरिकलाई २० युनिटसम्म निस्शुल्क बिजुली दिएको, महसुल घटाएको, सुकुम्वासीलाई जग्गा दिन थालेको, खेलाडीको भत्ता बढाउने र मनोबल बढाउने काम गरेको लगायतका कयौँ उपलब्धि माओवादी मन्त्रीहरुले गरेको भन्दै प्रचण्डले यी उपलब्धि नागरिकमा लैजान जरुरी रहेको बताउनुभयो । साथै प्रचण्डले अर्थमन्त्रीबाट राजीनामा दिएर नेता जनार्दन शर्माले उच्च नैतिकता देखाएको दाबी गर्नुभएको छ । 

प्रचण्डले शर्मा आफैँले कूनै गल्ती नगरेको दाबी गरे पनि राजीनामा दिएर नैतिकता र त्यागको सन्देश दिएको जिकिर गर्नुभयो । शर्माले राजीनामा नदिएको भए त्यही विषयलाई उचालेर राजनीति र गठबन्धन नै अप्ठ्यारोमा पार्नेसमेतको डिजाइन भइरहेको आफूले थाहा पाएको प्रचण्डको दाबी छ ।

राजीनामाले विपक्षीको मुख बन्द भएको र यो विषय माओवादीले पार्टीका आम कार्यकर्तालाई बुझाउनुपर्ने प्रचण्डको भनाइ छ । यस्तै, आजको बैठकमा अध्यक्ष प्रचण्डले पोलिटब्युरो, स्थायी र पदाधिकारी प्रस्ताव गर्ने सम्भावना पनि रहेको छ ।

गएको मङ्गलवारको पूर्वपदाधिकारीहरुको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिएको थियो । नामावली टुङ्गो लगाउन प्रचण्डले हिजो र अस्ति आन्तरिक छलफल गर्नु भएको थियो । 

बिहीबार २३ असार २०७९ ०२:५२ PM मा प्रकाशित

प्रतिक्रिया