×

प्रदेश मन्त्रीको छड्के जाँच

images

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले यातायात व्यवस्था कार्यालय सुर्खेतमा छड्के जाँच गर्नुभएको छ । 

उहाँले आज बिहान १०ः३० बजे कार्यालय समयमा छड्के जाँच गर्नुभएको हो । त्यतिबेला भने सेवाग्राहीको बाक्लै उपस्थिति थियो । जाँचका क्रममा दुई कर्मचारी आफू खुसी बिदामा बसेको, केही फाँटमा कर्मचारी नभएको र कर्मचारीले सरकारी पोशाक तथा परिचय पत्र नलगाएर आएको पाइएको मन्त्री रोकायाले जानकारी दिनुभयो । 

यातायातमा पुग्नुभएका मन्त्रीले लाइनमा बसेका सेवाग्राहीसँग परिचय नदिइकनै सेवाको गुणस्तर र भोग्नु परेका समस्याबारे जानकारी लिनुभयो । सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रदान गर्न कानुनी रुपमा भएका झन्झट, उपलब्ध साधन स्रोतको पहुँच र सेवाग्राहीको चापको विषयमा बुझेपश्चात् उहाँ कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश गर्नुभयो । 

मन्त्री रोकायाले सेवाग्रहीको समस्याबारे जनाउँदै जनभावना बुझेर सेवा दिन कार्यालय प्रमुखसहित कर्मचारीलाई निर्देशन दिनुभयो । सेवा प्रवाहमा कानुनी जटिलता भए प्रदेश सरकार त्यसलाई संशोधन गर्न पनि तयार रहेको जनाउँदै उहाँले सेवाग्राहीलाई सहज हुने गरी समयमै काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको थियो । 

यातायात व्यवस्था कार्यालयका प्रमुख आनन्द चपाईले सेवाग्रहीको चाप अत्यधिक हुने गरेको तर आफूहरुले सकेसम्म छिटोछरितो ढङ्गको सेवा दिने प्रयास गरेको बताउनुभयो । कार्यालयभित्र दलालहरुलाई प्रवेशमा रोक लगाइएको प्रमुख चपाईले मन्त्री रोकायालाई जानकारी गराउनुभएको थियो । मन्त्री रोकायाले टिकाटिप्पणीको अन्त्य हुने गरी काम गर्न कर्मचारीलाई सुझाउनुभएको थियो ।

बिहीबार २३ असार २०७९ ०२:५५ PM मा प्रकाशित

प्रतिक्रिया